१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे…

जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे…
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको न्यू होली क्रस इङ्लिस सेकेन्डरी स्कूलकी छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।

इरिकासँगै सङ्घीय संसद्का बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यू होली स्कूल र नागार्जुन नगरपालिका–१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कूलका एक सय १५ जना छात्रछात्रा सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । अरू विद्यार्थीको प्रतिक्रिया पनि इरिकाको भन्दा फरक छैन । उनीहरुले प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्ने अवसर जुटेकामा निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् ।

सङ्घीय संसद्का गतिविधिको अवलोकनमा आएका छात्रछात्रा सदनमा उठाइने राष्ट्र, राष्ट्रियता, समसामयिक तथा राजनीति र जनसरोकारका विषयमा प्रत्यक्ष छलफल गरी जानकारी लिन पाएपछि खुसी देखिन्थे ।

संसद् बैठकबाट विद्यार्थी बाहिरिएपछि शिक्षक र विद्यार्थीसँग प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा संवाद गर्नुभएको थियो । संवादका क्रममा विद्यार्थीले राखेका जिज्ञासालाई सभापति खतिवडाले अन्तरक्रियात्मक ढङ्गबाट सम्बोधन गर्नुभयो ।

सभापति खतिवडासँग विद्यार्थीले संसद्मा उठेका जनसरोकारका विषय सम्बोधन हुनेमा कति विश्वस्त हुन सकिन्छ ?, आर्थिक वृद्धिदर हासिल गरी सुखी नेपाली समृद्ध नेपालको नारा कहिलेसम्म सफल होला ?, वैदेशिक ऋणको भारले गाँजिदै गर्दा के अर्थतन्त्र उकास्न सकिएला ? लगायत प्रश्न सोधेका थिए ।

इरिकाले देशमा कसरी कानुन निर्माण हुन्छ, सदनमा सांसदले के–कस्ता कुरा उठाउँनु हँुदोरहेछ भन्ने जानकारी पाएको बताइन् । सदनलगायत औपचारिक मञ्चमा कस्तो पोसाक लगाएर आउने, कसरी प्रस्तुत हुनेलगायत विषयका बारेमा जानकारी पाइएको उनले प्रतिक्रिया दिइन् ।

संसद् अवलोकनमा आएका विद्यार्थीले कतिपय विषयमा परेको द्विविधाबारे सांसदसँगको छलफलबाट स्पष्ट भएको प्रतिक्रिया दिए । उनीहरुका अनुसार संसदीय अभ्यास, सभामुखको स्थान, जिम्मेवारी र भूमिका, सभाका प्रक्रिया, मर्यादापालकका जिम्मेवारी, सुरक्षा मापदण्ड, दर्शकदीर्घा रहनेले पुर्‍याउनुपर्ने ध्यान, गर्नुपर्ने नियमको पालना, अनुशासनलगायत विषयका बारेमा जानकारी प्राप्त भएको छ ।

अवलोकनमा जाँदा संसद् भवन प्रवेश गर्ने बेला साथमा लिएर जान नहुने सामग्री तथा जनप्रतिनिधिले बोलेका विषयमा तत्काल सङ्केत गर्न नपाइने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव लिएका छन् ।

सभापति खतिवडाले मुलुकमा भएका समसामयिक विषयमा सरकारका कुरा जनताका बीचमा र जनताका कुरा सरकारलाई बुझाउने दायित्व सांसद र संसद्को भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसद्ले जहिले पनि सरकार र जनताका बीच पुलको काम गर्छ । सरकार पनि संसद्बाटै चुनिन्छ । चाहेर पनि साधन र स्रोतको अभावमा सांसद र जनताले भनेका सबै सम्बोधन गर्न सक्ने अवस्था हुदैँन ।”

विपन्न, सीमान्तकृत समुदाय, पछिपरेका समुदायका आवाज सरकारमा पुर्‍याउने काम सांसदले गर्ने र त्यसबारे प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले सदनमा स्पष्ट गर्ने परम्परा रहेको सभापति खतिवडाले जानकारी दिनुभएको थियो ।

विद्यार्थीलाई कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै सभापति खतिवडाले भन्नुभयो, “कानुन मस्यौदाका रुपमा सदनमा प्रवेश पाएका विधेयकमाथि सभा र विषयगत समितिमा सैद्धान्तिक र दफावार छलफल हुन्छ । त्यसमा सांसदबाट संशोधन हालिन्छ । उक्त विधेयक सहमति र बहुमतका आधारमा पारित हुन्छ । त्यसलाई सभामुखले प्रमाणित गर्नुहुन्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्छ । ऐन भनेको कानुन हो ।”

माध्यमिक विद्यालय तह कक्षा १० अन्तर्गत सामाजिक विषयको पाठ्यक्रममा व्यवस्थापिकाका बारेमा पढाइ हुन्छ । पुस्तकमा चतुर्भजेश्वर माध्यामिक विद्यालय कक्षा १० का विद्यार्थीले सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक अवलोकन गरेको प्रसङ्ग उल्लेख छ । सामाजिक शिक्षकको सहयोगमा उनीहरुलाई संसद्को गतिविधि अध्ययन, अवलोकन गराइएको विषय पाठमा उल्लेख गरिएको छ ।

विद्यार्थीसहित बानेश्वर पुग्नुभएका नार्गाजुन भ्याली एकेडेमी स्कूलका प्राचार्य उद्धवनारायण हुमागाईंले सामाजिक शिक्षामा सङ्घीय संसद्बारे पढाइ हुने भएकाले विद्यार्थीलाई प्रत्यक्षरुपमा अवलोकन गराउन यहाँ ल्याइएको बताउनुभयो । उक्त विद्यालयबाट ३७ जना विद्यार्थी अवलोकनका लागि आएका थिए ।

सहकारीको रकम अपचलन भएको भन्ने विषयमा संसदीय छानबिन गठनको विषय लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको सदन आइतबारदेखि नियमितरुपमा सञ्चालन भएको हो ।

मुलुकको आर्थिक र पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको बजेटसम्बन्धी छलफलको पहिलो दिन सांसदको उपस्थिति न्यून देखिएको प्राचार्य हुमागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “विनियोजित बजेट र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै देश बनाउने लाग्नुपर्दछ । राजनीतिका मतभेद् भए पनि विकास निर्माणका विषयमा एकजुट हुनुपर्दछ ।”

संसद् भनेको देशको नीति निर्माण गर्ने र कार्यान्वयनमा ल्याउन बाटो देखाउने ठाउँ भएकाले दलगतभन्दा माथि उठेर बहस पैरवी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “राष्ट्रका वास्तविक कुरामा छलफल हुनुपर्छ । देश बनाउने विषयमा लाग्नुपर्छ,” प्राचार्य हुमागाईंले भन्नुभयो ।

न्यू होली क्रस इङ्लिस सेकेन्डरीका प्राचार्य दिनेशकुमार कार्कीले विद्यार्थीले पहिलो पटक सङ्घीय संसद्को बैठक अध्ययन र अवलोकन गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “माध्यामिक तहमा संसद्बारे पढाइ हुन्छ । विद्यार्थीलाई कक्षाको सैद्धान्तिक ज्ञान मात्र होइन, अवलोकनमार्फत यहाँका विधि र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले ल्याएका हौँ ।”

विधायकले जनसरोकारका विषयलाई कसरी उठान गर्छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी पाइएको जनाउँदै उहाँले यहाँबाट सिकेका आधारमा विद्यालयमा नमूना संसद्को अभ्यास गर्ने जानकारी दिनुभयो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सम्बन्ध, कार्यसम्पादन र शक्तिसन्तुलनको पाटोमा ज्ञान दिलाउन यस्ता अवलोकन निकै व्यावहारिक हुने कार्कीको प्रतिक्रिया छ । नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको सङ्घीय संसद्को मुख्य जिम्मेवारी कानुन र नीति निर्माण गर्ने रहेको जानकारी पाइएको उहाँको भनाइ छ ।

विधेयक प्रस्तुत, छलफल तथा बहस, आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्ने र राष्ट्रपतिसमक्ष प्रमाणीकरका लागि सिफारिसलगायत कानुनी जिम्मेवारी संसद्को रहेको कार्कीले बताउनुुभयो । यी विषयमा विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको उहाँको भनाइ छ ।

“सरकार गठन, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र महाभियोगलगायत प्रशासनिक कार्य विधायिकाको कार्यक्षेत्रभित्र पर्छ । करको दर निर्धारण, सरकारी बजेट स्वीकृत, बजेटमाथि नियन्त्रण, आर्थिक कार्य जिम्मेवारीसँगै संविधान र कानुन संशोधन गर्ने कार्य ससदको भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

बालबालिकाको संसद् अवलोकनलाई व्यवस्थित गर्न संसद् सचिवालयले संस्थागतरुपमा कार्य अघि बढाएको सहप्रवक्ता धमलाको भनाइ छ । विद्यार्थीबाट संसद्को अवलोकन विगतमा दर्शकका रुपमा मात्र सीमित रहेकामा पछिल्लो समय संसद्–नागरिक सम्बन्धको अभिन्न अङ्गका रुपमा ‘दर्शक–दीघ’ को व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहीँबाट संसद्को गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रियसभामा भने दर्शक दीर्घास्थल साँघुरो रहेकाले व्यवस्थापन चुनौती हुने भएपछि विद्यार्थीले अवलोकन गरेका छैनन् । सचिवालयले आगामी दिनमा दर्शक र विद्यार्थीको अवलोकनका लागि सहजता प्रदान गर्ने योजना बनाएको जनाएको छ । रासस