२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र



अ+ अ-

गलेश्वर । एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दु:ख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि तथा व्यवसायमार्फत सबल बन्दै जान थालेका हुन् ।

जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास (होमस्टे), सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो । सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा जिल्लाको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

मालिका गाउँपालिका–४ का तिलबहादुर विक १२ वर्षसम्म वैदेशिक रोजगारी गरेर गाउँ फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग सञ्चालन गर्नुभयो । अहिले उहाँले अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख ५० हजार भन्दा बढी बचत गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका–४ वास्कुनाका ११ वर्षीय तिलक गुरुङ विदेश बसाइलाई अन्त्य गर्दै गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लाग्नुभयो । उहाँ अहिले राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित हुनुभएको छ । विगत २३ वर्षदेखि पशुपालन र फलफूल खेतीमा लाग्नुभएका गुरुङले आफ्नै गाउँमा मासिक रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, सहरलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “गाउँको विकासका लागि ग्रामीण परिवेशका उद्यमहरु नै उपयुक्त हुन्छन्, म्याग्दीको सन्दर्भमा पशुपालन, तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन् । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो ।”

विक र गुरुङ यहाँका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा दुई सयभन्दा बढी युवा कृषि तथा पशुपालनमा लागेर व्यवसाय गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मौरीपालन, डेरी उद्योग, सिलाइकटाइ, गलैँचा उद्योग, माछापालन, टिमुर र आलुखेतीमार्फत यहाँका युवा आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका केही व्यक्ति विदेश हुँदा सिकेको सीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् ।

जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ, बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोटका साथै वनपैदावार र जडीबुटीका लागि चर्चित गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत् उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँमा पछिल्लो पाँच वर्षयता युवा उद्यमी र व्यवसायीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थापाको भनाइ छ । “ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्,” अर्थशास्त्रका जानकार विकल शर्माले भन्नुभयो, “यसको मद्दतमा जिल्लाको ग्रामीण समाजको आयआर्जन बढ्दै गएको छ ।” उहाँले ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो ।

गाउँलेहरूले बिक्री गरेका वस्तुको आम्दानी बैङ्क तथा वित्तीय संस्थामा जम्मा हुन थालेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताउनुभयो । युवा विदेश नगई स्वदेशमै आयआर्जनमा जोडिँदा ग्रामीण अर्थतन्त्र सबल बन्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको उहाँले बताउनुभयो । रासस