काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संस्कृति जोगाउनु हामीहरुको कर्तव्य रहेको र चाडपर्वहरुको मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताउनुभएको छ ।
माघे संक्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले सन्देशमा भन्नुभएको छ ‘कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसंक्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।’
यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने सभामुखको विश्वास छ ।











