२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या



अ+ अ-

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ ।

बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो ।

“हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ”, ‘‘लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आउनुभएका सूर्य खनालले भन्नुभयो, “तर लार्के बजारमाथि राखिएका मार्किङ पोल ढलेको, भाँचिएको र अक्षर मेटिएको अवस्था छ ।”

हिमपात नपरेका बेला बाटो देख्न सकिने भएकाले आवतजावत गर्न गाह्रो नहुने भए पनि हिमपातले बाटो पुरिएका बेला ‘मार्किङ पोल’ बिनाअनुमानका भरमा जोखिम मोलेर पर्यटकलाई पथप्रदर्शकले हिँडाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । धर्मशाला, लार्केपासदेखि भिम्ताङसम्मका पदमार्गमा मार्किङ पोल अस्तव्यस्त रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय विदेशी पर्यटकको अत्यधिक रोजाइमा पर्दै आएको मनास्लु पदमार्गमा दैनिक सयौँ विदेशी पर्यटकले पदयात्रा गर्ने गर्दछन् । “मनास्लु पदमार्ग आफैँमा पनि जोखिमयुक्त पदमार्ग नै हो”, उहाँले भन्नुभयो, “जोखिमपूर्ण यात्रा गर्नुपर्ने पदमार्गमा झनै ‘मार्किङ पोल’ नहुँदाको कठिनाइ पथप्रदर्शकलाई थपिएको छ ।”

पदमार्गमा राखिएका मार्किङ पोल बीचको दूरीसमेत निक्कै टाढाटाढा रहेको छ । “पथप्रदर्शकलाई हिमपातका बेला बाटो पहिल्याउने साहारा भनेकै ‘मार्किङ पोल’ हो”, पथप्रदर्शक खनालले भन्नुभयो, “जसको सहायताले बाटो खोज्दै हिँड्नुपर्छ त्यहीँ नभएपछि समस्या हुने नै भयो ।”

पोल ढलेको विषयमा पटकपटक कार्यालयलाई जानकारी गराइएको भए पनि बेवास्ता गरेको उहाँको भनाइ छ । “बजेट अभाव भएको भए पनि ढलेका पोललाई यथास्थानमा गाड्ने तथा अक्षर मेटिएको बोर्डमा लेख्ने काम मात्र गरे पनि निक्कै सहज हुने थियो”, अर्का पथप्रर्दशक किशोर न्यौपानेले भन्नुभयो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का सूचना अधिकारीसमेत रहनुभएका संरक्षण अधिकृत भुवनराज ओझाले ढलेका पोल पुन:गाड्ने तथा भाँचिएका पोलको ठाउँमा नयाँ पोल राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मार्किङ पोलको सहायताले हिउँ परेका बेला पर्यटक र पथप्रदर्शकले बाटो पहिचान गरेर हिँड्नुपर्ने भएकाले मार्किङ पोल अनिवार्य रहेकोसमेत बताउनुभयो ।

“कार्यालयबाट कर्मचारी खटाएर कुन ठाउँमा कति मार्किङ पोल आवश्यक पर्छ, भनेर डाटा निकाली सकेका छौँ”, उहाँले भन्नुभयो, “भाँचिएको र दूरी टाढा रहेका ठाउँमा नयाँ पोल राख्ने र ढलेका पोल उठाएर साविकै ठाउँमा गाड्ने गरी काम सुरु गर्न लागिएको छ ।” अधिकृत ओझाले आउँदो असार मसान्तसम्म सबै काम सम्पन्न गर्ने बताउनुभयो ।

भौगोलिक जटितलाका कारण ढलेका पोल उठाउन र भाँचिएको पोलको ठाउँमा नयाँ राख्न ढिलाइ भएको उहाँले दाबी गर्नुभयो । माथिल्लो मनास्लु पदमार्गको जगतदेखि मनास्लु आधार शिविरसम्म ८१ ‘मार्किङ पोल’ रहेका छन् । रासस




भर्खरै