२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म



अ+ अ-

गण्डकी । गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो ।

सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताउनुभयो । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो ।

गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउनुहुन्थ्यो । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । “अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपुतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ”, सपुतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ ।

सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाउनुभयो ।

“मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ”, उहाँले भन्नुभयो, “यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।” कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उहाँको भनाइ छ ।

चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिनुभयो । “आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पार्नुभएका हो । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गर्नुभएका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस