६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना खोपको भ्रममा पर्नु जरुरी छैन, ढुक्क भएर लगाए हुन्छः डा समिर कुमार अधिकारी

कोरोना खोपको भ्रममा पर्नु जरुरी छैन, ढुक्क भएर लगाए हुन्छः डा समिर कुमार अधिकारी
अ+ अ-

कोरोना खोप अभियान आज माघ १४ गतेदेखि नेपालमा पनि शुरु हुँदैछ । यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाईमा संलग्न व्यक्तिहरुलाई दिइँदैछ । यसमा झण्डै साढे चार लाख व्यक्ति सामेल हुँदैछन् । भारतीय सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप भारत सरकारले १० लाख डोज नेपाललाई उपलब्ध गराएको र त्यही खोप पहिलो चरणमा लगाउन थालिएको हो । यस खोप लगाउने अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिर कुमार अधिकारीको भनाई ।

खोप कसरी लगाइँदैछ ?

आज माघ १४ गते बुधबारका दिन कोभिड–१९ विरुद्धको खोपको अभियान शुरु हुँदैछ । यसमा प्रधानमन्त्रीबाट सातवटै प्रदेशमा रहेका अस्पतालहरु र काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुलाई भर्चुअल विधिबाट जोडेर भर्चुअल विधिबाट समुदघाटन हुनेछ । यसका लागि खोप सम्बन्धित प्रदेशमा पठाउने, सम्बन्धित प्रदेशमा खोप केन्द्रहरु तोक्ने, त्यसका लागि चाहिने व्यवस्थापन स्वयंसेवकहरु, स्वास्थ्यकर्मीहरु, उहाँहरुलाई तालिम अभिमुखीकरण सबै कुराको तयारी सकिएको छ । कुन खोप केन्द्रमा कसले खोप लगाउने, ककसको त्यहाँ सूची छ भन्ने सार्वजनिक गरेर त्यसै अनुरुप व्यवस्था अगाडि बढाइएको छ ।

खोप लगाएपछि कोरोना नलाग्ने हो ? वा कति दिनसम्म यसले सुरक्षित राख्छ ?

अहिले प्राप्त भएको खोप अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरेर विकास गरिएको हो । र यसलाई संसारकै सबैभन्दा ठूलो खोपको उत्पादक कम्पनी भारतीय सेरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको छ । त्यस कम्पनीबाट नेपालले अरु पनि खोपहरु विगतमा ल्याउने गरेको थियो । पहिलो डोज लगाउनासाथ सबैलाई भैहाल्छ भन्ने छैन अथवा रोग विरुद्ध क्षमता विकास भइहाल्छ भन्ने छैन । यसलाई कम्तीमा दुई डोज लगाउनु पर्दछ । यसलाई चार हप्ताको फरकमा लगाउनु पर्दछ । यो दुई डोज लगाइसके पछि रोग प्रतिरोधी क्षमता ७० प्रतिशत विकास हुन्छ भन्ने अध्ययनहरुले देखाएका छन् । त्यसै अनुसार रोग प्रतिरोधी क्षमता एउटा व्यक्तिमा विकास भएर मात्र हुँदैन, विस्तारै समुदायस्तरमा हामी जति छौं त्यसमध्ये ७० प्रतिशत अर्थात् १० जना छौं भने सात जनामा रोग प्रतिरोधी क्षमता विकास भएको अवस्थामा संक्रमणको चक्र रोकिन्छ । तीन जनामा संक्रमण छ वा कमजोर छन् वा रोग सार्न सक्ने वा सर्न सक्ने हुनुहुन्छ भने पनि कोभिड–१९ को चक्र रोकिने खाले हुन्छ ।

त्यही कारण अहिले आएको खोपको रोग प्रतिरोधात्मक क्षमता विकास हुन कम्तीमा दुई चरणको खोप लगाउनु पर्ने हुन्छ कुनै पनि व्यक्तिले । खोप पूरा भएपछि व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ र सधैंका लागि रहने होइन, केही महिनाका लागि रहने हो ।

भनेपछि, केही महिनापछि फेरि खोप लगाउनु पर्छ ?

अहिलेका लागि पहिलो चरणमा दुई डोज खोप लगाउने हो । पहिलो चरणमा लक्षित गरिएका वर्गहरुलाई । त्यसपछि अर्को चरणमा जुन वर्गलाई लक्षित गरिएको छ त्यस वर्गलाई लगाउने हो ।

खोपले कति दिनसम्म रोग प्रतिरोधात्मक क्षमता विकास गर्दछ ?

यसको सरदर तीन देखि चार महिना भनिएको छ । त्यसलाई हामीले ९० दिनसम्म प्रतिरोधी क्षमता बढाउँछ भन्ने अध्ययनले देखाएको छ ।

साइड इफेक्ट के छ ?

यही खोपका कारणले मात्र साइड इफेक्ट हो भन्ने छैन । धेरै साइड इफेक्ट छैन । सामान्य रुपमा खोप लगाएको ठाउँमा रातो हुने, डर लाग्ने कुराहरु देखिएका छन् । कसैकसैलाई ज्वरो पनि आउने देखिएको छ । यस खोपका कारण ठूलै स्वास्थ्य समस्या आउने पुष्टी भएको छैन । 

औषधि खाइरहेका, दिर्घ रोगीहरुले नमिल्ने हो ?

अरु खोपहरुका सन्दर्भमा सामान्य नियममा हो भन्न सकिएला । तर कोभिड–१९ को खोपका विषयमा खासरुपमा त्यही वर्गलाई चाहिँ लगाउनु हुँदैन भन्ने छैन । किनभने त्यही वर्ग कोभिडको संक्रमणबाट अलि बढी जोखिममा रहने, कोभिड भैहाले त्यसले पार्ने दुस्प्रभाव अझ बढी रहने संभावना रहने हुनाले उहाँहरुलाई संक्रमणबाट जोगाउनु अझ बढी महत्वपूर्ण हुन्छ ।

खोप अभियान कसरी चल्दैछ ?

हामीले चरणबद्ध रुपमा संक्रमणको जोखिमलाई विचार गरेर खोप लगाउने छौं । पहिलो चरणमा स्वास्थ्य कर्मीहरु हुनुहुन्छ । पहिलो चरणमा खासगरी ३ प्रतिशत छन् । यसमा स्वास्थ्यकर्मीहरु (सरकारी, गैर सरकारी), स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वयंसेविकाहरु, सार्वजनिक फोहोर संकलनमा कार्यरत व्यक्तिहरु, सरसफाइकर्मीहरु, एम्बुलेन्स तथा शवबाहनका चालकहरु, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरु, हेल्थ डेस्कहरुमा खटिने कर्मचारीहरु, वृद्धाश्रममा रहेका नागरिकहरु र उहाँहरुको स्याहारसुसार गर्ने व्यक्तिहरु पहिलो लक्षित वर्गमा हुनुहुन्छ ।

दोस्रो लक्षित वर्गमा ५५ वर्षभन्दा माथिका नागरिकहरु र त्यसपछिको अभियानमा ४० वर्षभन्दा माथिका र अरु स्वास्थ्य समस्या भएका व्यक्तिहरु, दिर्घरोग भएका व्यक्तिहरु, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरु र नेपालमा रहेका शरणार्थीहरु रहेका छन् ।

त्यसपछिको चरणमा बाँकी रहेका वर्गलाई खोप दिइने तयारी छ ।

रियाक्सन भइहाले त्यसको तयारी केही छ ?

अवश्य छ । सरकारले पहिलो चरणको खोप अभियान अस्पतालमा मात्र खोप केन्द्र बनाएर शुरु गर्दैछ । त्यो भनेको कुनै दुस्प्रभाव देखिए, समस्या भए त्यसको व्यवस्थापन तत्काल त्यहीँ गर्न सकिन्छ । पहिलो चरणको खोप अभियानको सिकाईहरु, भोगाइहरुलाई लिएर पछिल्ला चरणका खोप अभियान परिस्कृत गर्दै स्थानीय तहहरुसम्म खोप केन्द्रहरु विस्तार गर्नेछौं । त्यही भएर अहिले सरकारले कुनै समस्या आए त्यसलाई सम्बोधन गर्ने गरी तयारी गरेको छ ।

अर्को चरणको खोपको तयारी के हुँदैछ ? खोप कहिले आउँछ ?

आज माघ १४ गते हामीसँग १० लाख डोज खोप छ । यो आजै लगाइसक्ने विषय होइन । यसबाट ३ प्रतिशत जनसंख्यालाई लगाइने हो । त्यसमध्ये पहिलो चरणमा ४ लाख ३० हजारभन्दा बढी व्यक्ति सूचीमा हुनुहुन्छ । उहाँहरुका लागि दोस्रो डोज पनि व्यवस्था गर्नु पर्यो ।। त्यसपछि अरु व्यक्तिलाई खोप दिन खोप खरिद गर्ने र खोप अनुदानमा प्राप्त गर्ने दुईवटै प्रक्रियाहरु कामहरु अगाडि बढेका छन् । पहिलो चरणको दुबै पटकको खोप लगाइसकेपछि हाम्रा सिकाईहरु, भोगाइहरु ती सबै कुराहरुलाई हेरेर दोस्रो चरणको अभियान शुरु हुन्छ । खोप ल्याउन सरकार लागिरहेको छ, र त्यो चाँडै प्राप्त हुने विश्वास छ ।

खोप लगाएपछि के होला, कसो होला भन्ने जनमानसमा भ्रम र त्रासको वातावरण पनि छ । यो के हो ?

पहिलो चरणको खोप हामीले त्यही बुझेको वर्गबाट शुरु गर्दैछौं अर्थात स्वास्थ्यकर्मी र सरसफाईमा संलग्न व्यक्तिहरुबाट । यसको अर्को सन्देश के हो भने हामीले पहुँचवालाहरुलाई मात्र शुरु गरेका छैनौं, जसलाई खोप दिँदा बढी प्रभाव हुन्छ त्यही वर्गलाई पहिलो चरणमा राखिएको छ । यो खोप अन्तर्राष्ट्रिय रुपमा प्रमाणित खोप हो, हामीले यसमा कुनै द्विविधा पाल्नु जरुरी छैन । सरकारले विश्वसनीय, संसारमा करोडौं मानिसले लगाइसकेको र नियामक निकायहरुले मान्यता दिइसकेको खोप प्रयोगमा ल्याएको छ । अहिले कोभिड–१९ माथिका कैयौं भ्रम समाप्त भइसकेका छन् । यस्तै अवस्था खोपमा पनि हुन्छ । हामी कुनै पनि भ्रममा नपर्न र ढुक्क हुन अनुरोध गर्दछौं । सामाजिक संजालमा भर नपरी आधिकारिक स्वास्थ्यकर्मीको भनाईमा विश्वास गर्न आग्रह गर्दछौं ।