१६ असार २०८३, मंगलवार
,
Latest
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी



अ+ अ-

म्याग्दी । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ ।

“लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठूला होटल भरिभराउ भएका छन्”, घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भन्नुभयो, “विद्यालय, एसइईको वार्षिक परीक्षा सकेर फुर्सदिला भएका शिक्षक विद्यार्थीदेखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायी यहाँ आउनुभएको छ ।”

सत्ताइस वटा होटल रहेको घोडेपानीमा दैनिक एक हजारजना बास बस्न सक्छन् । साना ठूला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताउनुभयो । जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको घोडेपानी घुमेर फर्किएका मङ्गला गाउँपालिका–५ का करन कँडेलले बताउनुभयो ।

विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

“वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।” बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन् । बेनीबाट आठ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताउनुभयो ।

गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मिता खरेलले अनुभव सुनाउनुभयो । फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फूल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ ।

समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । रासस