• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै ★   चौतारी संरक्षणमा युवापुस्ताको चासो ★   संसदीय समितिको टीओआरमा दलहरू सहमति नजिक ★   ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन ★   झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान ★   संघीय निजामती सेवा विधेयकमा परिमार्जनको आवश्यकता ★   राष्ट्रियसभाको बैठक पनि सर्‍यो ★   विश्वविद्यालयबाट बिरालोले पायो ‘डाक्टर अफ लिटरेचर’को उपाधि

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ : प्रधानमन्त्री



चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उहाँले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताउनुभयो ।

“गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।”

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताउनुभयो ।

खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताउनुभयो ।

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताउनुभयो ।