१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुग्नुभएका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण बनाउन हामी तयार छौँ ।” नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गर्नुभयो ।

जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउनुहुँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उहाँको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याउनुभयो ।

राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उहाँको भनाइ छ ।

द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा पनि अर्थमन्त्री पुनले चासो राख्नुभएको छ । रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउनसमेत उहाँले रादजूत नोभिकोभलाई आग्रह गर्नुभयो । रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराउनुभयो ।

“रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्”, उहाँले भन्नुभयो, “यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।”

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्नुहुँदै रुसले पनि नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गर्नुभयो । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उहाँले उल्लेख गर्नुभयो ।

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि उहाँले गर्नुभयो । “नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंँ”, राजदूत नोभिकोभले भन्नुभयो ।

युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि राजदूत नोभिकोभले अर्थमन्त्री पुनलाई दिनुभयो । “हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।