१५ मंसिर २०८१, शनिबार
,
Latest
लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि आज कहाँ–कहाँ काटिन्छ बिजुलीको लाइन ? आज बालाचतुर्दशी, देशभरका शिवालयहरुमा शतबीज छरियाे (फाेटाे फिचर) चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ? प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक र पौष्टिक महत्वको जौँ बाली लोप हुँदै



अ+ अ-

गलेश्वर । धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने  कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिककार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताउनुभयो । त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।”

मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जाँैको सातु बनाएर खाने गरेको उहाँले बताउनुभयो । मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताउनुभयो ।

म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जाँैले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन् ।

बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।