१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक

अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक
अ अ+ अ-

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत फागनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा जम्मा छ हजार एक सय ७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । “असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई मुख्य पर्यटकीय याममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “जाडो र वर्षात्को याममा कम पर्यटक घुम्न आउँछन् ।”

चैत–वैशाखमा अझ धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने उहाँले बताउनुभयो । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवै याममा अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । पहिलो मुख्य पर्यटकीय यामको सुरु महिना असोजमा २८ हजार सात सय पाँच पर्यटक घुमफरिका लागि उक्त क्षेत्रमा पुगेका थिए । कात्तिकमा २४ हजार चार सय १६ र मङ्सिरमा ११ हजार नौ सय २८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।

पछिल्लो समय भारतीय पर्यटक बढे पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने घट्दै गएको प्रमुख डा कडरियाले बताउनुभयो । पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको उहाँको भनाइ छ ।

सन् २०२३ मा अहिलेसम्मकै बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयले जनाएको छ । उक्त वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले फेरि पुरानै लय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । आयोजना कार्यालयले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

सडकमार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न त्यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।

अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्न उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा समावेश गरेको मुस्ताङ पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ । यसअघि अमेरिकाकै अर्को समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा मुस्ताङ उपत्यकालाई समेटेको थियो । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । रासस