१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरका एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीको समायोजन गर्ने निर्णय गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह/स्तर बढुवा गर्ने निर्णय गरेको हो । 

महानगरको नगर परिषद बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीका अनुसार महानगरका करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएका हुन् । 

यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

यसअघि महानगरमा नेपाल सरकारका सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य असन्तुष्टिपछि सचिवको सट्टा सहसचविले नै प्रशासकीय अधिृकतको जिम्मेवारी पाउने व्यवस्था गरेको थियो ।

हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।