२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा
अ अ+ अ-

झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन ।

सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ ।

होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् । कतिले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् ।

“नाका बन्द भएपछि आउजाउ ठप्प भयो, पर्यटक आउने क्रम रोकियो”, उहाँले होटेल व्यवसायी पलायन हुनुका कारण खुलाउँदै भन्नुभयो, “घरभाडा र बैंकको साँवाब्याज तिर्न नसकेर कैयौँ साथीले व्यवसाय नै छाडिदिनुभयो ।”

होटेल व्यवसायीहरुले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समेत गुहारे । काँकडभिट्टामा व्यवसायीहरुले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । धर्नाका क्रममा प्रहरीसँग व्यवसायीको झडप भएको थियो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताउनुभयो । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उहाँले बताउनुभयो । “पहिलेको भन्दा अहिले नाकालाई सहज तुल्याइएको छ”, प्रहरी नायब उपरीक्षक दाहाल भन्नुहुन्छ, “कोरोनाको जोखिम अझै सकिएको छैन भन्ने कुरा आम जनसमुदायले बिर्सनु हुँदैन ।”

भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले महामारीको त्रास कम भएको र कोभिडको खोपसमेत सर्वसाधारणले लगाउन थालिसकेको अवस्थामा सीमाका नाकाहरु पूरै खुला गरिनुपर्ने माग गर्नुभयो ।

काँकडभिट्टा नाकाबाट आउजाउ गर्नका लागि मोटरसाइकल र सिटी रिक्साहरुलाई पुलसम्म जान दिइएको छ । बिरामी बोकेका एम्बुलेन्सहरु नाका पार भएर जाने गरेका छन् । पैदल यात्रीको भीड चाहिँ बढिरहेको छ ।

भारतीय नाका पानीट्याङ्कीमा नेपालीहरुलाई सीमा पार गर्न नागरिकता देखाउनपर्ने हुन्छ । नाका खटिएका सुरक्षाकर्मीले नागरिकता हेरेर नाका पार गर्न अनुमति दिँदै आएका छन् । नाकामा मालवाहक ठूला गाडीहरु भारतबाट एकतर्फीरुपमा नेपाल भित्रिरहेका छन् ।    सरकारले नाका खुलाउन पहल गरिरहेको धेरै पहिलेदेखि हल्ला आउने गरेको छ । शिक्षण संस्था, अस्पताल, सुपरमार्केट, यातायातलगायत सबै क्षेत्र खुला भइसकेको अवस्थामा सीमा नाकामात्र बन्द गरिनु असङ्गत भएको व्यवसायीको भनाइ छ । रासस