११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रास्वपाको एमाले, माओवादीसँग केही कुरा मिल्दैन, सत्तामा जानुपर्छ भन्ने कुरामात्रै मिल्छ: श्याम श्रेष्ठ

रास्वपाको एमाले, माओवादीसँग केही कुरा मिल्दैन, सत्तामा जानुपर्छ भन्ने कुरामात्रै मिल्छ: श्याम श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । सोमवार सत्ता समिकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरु एकले अर्कोलाई आफ्नो पक्षमा लिन दौडधुप गरिरहेका छन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दोस्रो ठूलो दल नेकपा(एमाले)सँग सत्ता सहकार्य गरेसँगै यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन् । नयाँ राजनीतिक समिकरणलाई नागरिक समाजले कसरी हेरिरहेको छ भन्ने सम्बन्धमा नागरिक समाजका अगुवा श्याम श्रेष्ठसँगको  कुराकानीमा उहाँले लामो गृहकार्यपछि मात्रै यो गठबन्धन बनेको बताउनु भयो । प्रश्तुत छ, उहाँसँग गरिएको कुराकानी:–

प्रश्न: प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन गर्नुभयो, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई लिएर, यसअघि यही गठबन्धन छोडेर काँग्रेससँग गठबन्धन बनाउनुभएको थियो, यो परिवर्तित राजनीतिक परिस्थितिलाई कसरी लिनुभएको छ ?

जवाफ: यो देखिँदाखेरी अकास्मत देखियो । अप्रत्याशित जस्तो लाग्नेगरी पनि देखियो । तर घटनाक्रम हेर्दाखेरी यो अकास्मत घटेको घटना होइन । यो भन्दा धेरै अगाडीदेखि खिचडी पाक्दै थियो । पाकेको खिचडी अहिले थालमा पस्किएको मात्रै हो । तर योभन्दा अगाडी नै गृहकार्य नभइकन अकास्मत यस्तो खालको कुरा हुने गर्दैन । त्यसकारणले यो अकास्मत भएको घटना होइन । दोस्रो कुरा, माओवादी र एमाले पहिला पनि मिलेको । एउटै पार्टी पनि बनाएको । पार्टीपनि फुटेको । फेरि उहीसँग एकीकरणको प्रयत्न पनि गरेको । फेरि फुटेको घटना हो । अहिले उहीसँग जोडिने खालको कुरा आएको छ । के असन्तोष भयो कांग्रेससँग त्यो हामीलाई थाहा हुने कुरा भएन । तर कुनै न कुनै असन्तोष भएर यस्तो भएको देखिन्छ ।

प्रश्न: वाम गठबन्धन गरेर जाने भनेका छन्, के त्यो सम्भव छ ?

जवाफ: त्यो नामाकरण चाहीँ उनीहरु गरुन् । कति वामपन्थी छन् यि अहिले भएका पार्टीहरु ? एमाले कति वामपन्थी छ ? माओवादी कति वामपन्थी छ ? वामपन्थी भनेको त आमुल रुपान्तरणकारी हो । आमुल रुपान्तरणको कुनै एजेण्डा यि पार्टीसँग बाँकी छ ? बाँकी छ भने वामपन्थी हुने हो । नभए वामपन्थी भन्न मिल्दैन । वामपन्थी शब्दलाई दुरुपयोग गर्नुहुन्न । वामपन्थी शब्द अर्थपूर्ण शब्द हो । जहाँनेर पार्टीहरु, दलहरु, कुनै शक्तिहरु तात्विक महत्वको परिवर्तनमा तयार हुन्छ र हन्छ वामपन्थी । को वामपन्थी यहाँ ? त्यसकारणले यो वामपन्थी भन्ने शब्द त मलाई लाग्दैन । यो देशका सुधारवादी शक्तिहरुको बीचको गठबन्धन भन्यो भने ठिकै होला ।

प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत पाउनु होला ? कि घात, प्रतिघातको शुरुवात विश्वासको मतबाटै शुरु हुन्छ ?

जवाफ: त्यो त म भन्न सक्दिनँ । किनकी म ज्योतिष होइन । पाउन पनि सक्छ । नपाउन पनि सक्छ । तर अब भर्खरै एकता गरेको छ, एमालेले भर्खरै आफ्नो गोडामा आफैँले बञ्चरो हान्ने काम नगर्ला । त्यहाँसम्म त जाला कि भन्ने एउटा अनुमान हो । तर अहिले नेपालमा एक क्षणमा, एउटा कुरा नमिल्ने बित्तिकै फुट्नेहरु हुन् यिनीहरु । अघिल्लो पार्टी फुट्नुपर्ने कारण नै थिएन । त्यसकारणले अहिले भन्न सकिदैन त्यो ।

प्रश्न: मान्छेहरुले निकट भविष्यमा पुन: काँग्रेस–एमाले गठबन्धन अथवा काँग्रेस–माओवादी गठबन्धन हुनसक्छ भनेर टिप्पणी पनि गरेका छन् । त्यस्तो कमजोर जगमा छ यो गठबन्धन ? त्यस्तो सम्भावना हुनसक्छ ?

जवाफ: सम्भावना त राजनीतिमा जे को पनि हुन्छ । तर काँग्रेसको सबैभन्दा ठूलो प्रतिपक्ष एमाले हो । एमालेको सबभन्दा ठूलो प्रतिपक्ष काँग्रेस हो । यि दुईथरी मिल्ने सम्भावना ज्यादै कम छ । खानेकुरा पनि त एउटै बोरामा दुईवटाले मुख जोत्नुपर्ने कुरा भयो । त्यसकारणले मिल्ने सम्भावना असाध्यै कम हुन्छ । मिल्दै मिल्दैनन् भन्न पनि सकिँदैन । मिल्न सक्छन् । किनभने कुरा मिले पछाडी त, स्वार्थ मिले पछाडी त नमिल्लान् भन्न सकिँदैन । तर मिल्ने सम्भावनाको कुरा गर्नुहुन्छ भने त्यो सम्भावना ज्यादै नै कम छ । फेरि पनि काँग्रेस–माओवादी मिल्ने सम्भावना अथवा एमाले–माओवादी मिल्ने सम्भावना ज्यादा छ । किनभने सबैले हन्डर, ठक्कर खाएर, एमालेले हन्डर ठक्कर खाइसकेको छ । माओवादीले पनि । त्यो हन्डर ठक्कर पछाडीको यो गठबन्धन हो ।

प्रश्न: यो गठबन्धनलाई ‘चाइना फ्याक्टर’ को रुपमा पनि अथ्र्याइएको छ, ‘बिआरआई परियोजना’ कार्यान्वयनसँग पनि जोडिएको छ, के चाइना फ्याक्टरले नै काम गरेको हो त ?

जवाफ: नेपालमा जे भएतापनि कुनै फ्याक्टर जोड्ने एउटा चलन नै भइसकेको छ । नेपाल सार्वभौम देश होइन, यहाँ चाइनाले मिलाउँछ, अमेरिकाले मिलाउँछ या त भारतले मिलाउँछ भन्ने एउटा सोच छ । तर यो सोचलाई चिरेर जानुपर्छ जस्तो लाग्छ नेपालीहरुले । यो कुनै फ्याक्टरले गर्दाखेरी भएको होइन कि आफ्नो सत्ताको आवश्यकताको फ्याक्टरले गर्दा चाहीँ भएको हो । चाइनाले त पहिला पनि पार्टीहरुलाई जोड्नै कोशिस गरेको थियो नि । तरपनि फुट्यो । फेरि पनि जोड्न कोशिस गरेको फेरि पनि फुट्यो । चाइना फ्याक्टर लाग्ने भए त त्यतिखेरै लाग्थ्यो नि ।

प्रश्न: चार राजनीतिक दलहरुले आँठ बुँदे सहमति गरेका छन्, संक्रमणकालिन न्यायसम्बन्धी विधेयक टुंग्याउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने लगायतका बुँदा छन्, यि कुराहरुलाई टुंग्याउन प्रधानमन्त्रीलाई काँग्रेससँग भन्दा एमालेसँग काम गर्न सजिलो हुने भएकाले यसो भएको हो त ?

जवाफ: पार्टीगत रुपमा भन्नुहुन्छ भने एमालेलाई माओवादी सजिलो पर्नुपर्ने हो । तर व्यक्तित्वले पनि भुमिका खेल्छ । व्यक्तित्वको मनोविज्ञानले भुमिका खेल्छ । अहिले कस्तो देखिन्छ भने प्रचण्डलाई देउवासँग कुराकानी गर्न ज्यादा सजिलो ओलीसँग कुराकानी गर्न ज्यादा अपm्ठ्यारो । यो देखिन्छ । उनीहरुको बडिल्याङ्वेजलाई हेर्दाखेरी । पार्टीगत रुपमा भन्नुपर्दा त्यो कुरा नभएर एमाले र माओवादी उस्तै उस्तै पार्टी भए । संसदीय पार्टी । सुधारवादी पार्टी । दुवैको स्वभाव पनि मिल्ने । दुवै वामपन्थी पृष्ठभूमिबाट आएको । दुवै पार्टीले एक समयमा हतियार उठाएको । माओवादीले पनि धरै मात्रामा हतियार उठाएको । एमालेले पनि उठाएको थोरै मात्रामा । तर उठाएको त हो नि त उसले पनि । त्यस कारणले इतिहास हेर्दाखेरी कम्युनिस्ट पार्टीको धङधङी पनि बाँकी छ । बेसार नै नभएपनि बेसार बाँधेको टालो बाँकी छ । पार्टीगत रुपमा यता सजिलो । व्यक्तिगत रुपमा उता सजिलो हो ।

प्रश्न: चार राजनीतिक दलहरुले गरेको आँठ बुँदे सहमतीलाई कार्यान्वयन गर्न कत्तिको इमान्दार होलान् यि दलहरु ?

जवाफ: नेपालमा सबभन्दा समस्या नै सहमति कार्यान्वयन हो । यि नेपालका सबै दलहरुको स्वभाव के हो त भन्दाखेरी सहमति भनेको तोड्नका लागि गर्ने हो भन्ने खालको स्वभाव हो । सहमति भनेको कार्यान्वयनका लागि होइन कि आज सहमतिमा हस्ताक्षर गर्‍यो । सहमति गरेको भोलिपल्ट नै तोड्नका लागि कहाँ कहाँ तोड्न मिल्छ ? त्यसको प्वालहरु कहाँ छ ? भनेर खोज्ने खालको पार्टीहरु परे । त्यसकारण नेपालमा सहमती राम्रोसँग कार्यान्वयन हुन्छ भन्ने कुरा विगत इतिहास हेर्ने हो भने कसैले पनि सहमतीलाई राम्रोसँग कार्यान्वयन गरेको देखिँदैन । मात्रामा कोही धेरै कोही थोरै होला । सहमति भनेको अधिकांश रुपमा तोडेकै देखिन्छ । तोड्न त यि माफिर मान्छेहरु परे ।

प्रश्न: नयाँ राजनीतिक दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनमा समावेश हुनुलाई कसरी हेर्ने ?

जवाफ: जुन खालको अहिले गठबन्धन छ, रास्वपाको एमाले, माओवादीसँग के कुरा मिल्छ ? रास्वपा त अहिले बन्दै गरेको पार्टी हो । न त उसको सिद्धान्त बनिसकेको छ । न त कुनै ठोस विचार बनिसकेको छ । बनाउने दिशातिर छ । भर्खरै बनेको पार्टी हो । उ त नेतृत्व कसरी बनाउने, संगठन कसरी बिस्तार गर्ने, विचार कसरी बनाउने, विचारलाई कसरी व्यवहारिक रुप दिने भन्ने कुराको चरणमै छ त । यसलाई पार्टी इन मेकिङ भन्छन् । पार्टी इन मेकिङको चरणमा छ रास्वपा । त्यसकारणले उसको के हो, के होइन भन्ने कुरा अहिले भन्न सकिदैन । तर उसले जे बोलिरहेको छ । जे गरिरहेको छ, त्यहाँ नेताहरु एउटा कुरा बोलिराखेको छ ।

कार्यकर्ताहरु अर्को कुरा बोलिराखेको छ । कुनै कुनै मान्छेले वामपन्थीले बोल्ने भन्दापनि धेरै राम्रो कुराहरु संसदमा बोलिराखेको देखिन्छ । कुनैले असाध्यै प्रतिक्रियावादी कुरा पनि बोलिराखेको छ । बोलाइमा एकरुपता आएको देखिँदैन । कुनैले सबैले भन्दा राम्रो बोलेको छ संसदमा । अर्को मान्छे अर्कै कुरा गर्छ । त्यसकारणले पार्टी वैचारिक एकरुपतामा नआइकन पार्टी बनेको भनिदैन । पार्टी इन मेकिङमा त्यो सुविधा दिनु पनि पर्छ । जनमत, नागरिक उन्मुक्ति पार्टी पनि बनिरहेका पार्टी हुन् । यिनले ठोस आकार लिन बाँकी छ । वैचारिक रुपमा आकार दिन बाँकी छ । त्यसकारणले अहिले यि पार्टीको के कुरा मिल्छ त ? सत्तामा जानुपर्छ भन्नेकुरा मिल्छ । अघिल्लो सरकारलाई भत्काउनुपर्छ भन्नेकुरा मिल्छ । मिलेको यत्ति हो । बाँकी के के कुरा मिल्छ त भनेर हिसाब किताव राम्रोसँग गर्न बाँकी छ ।

प्रश्न: काँग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने, हिन्दु राष्ट्रको विषय उठाउनु नै गठबन्धन भत्किनु कारण हो त ?

जवाफ: अर्को एउटा कुरा छ, माओवादीहरुको जनयुद्धलाई विध्वंशकारी भनेको एकदमै नकारात्मक रुपमा प्रश्तुत गरेको कुराले माओवादीलाई सबभन्दा ज्यादा छोएको हुनुपर्छ । तपाईले भनेका कुरा पनि होलान् । तर महासमितको बैठकले माओवादीलाई झस्काएको पक्कै हुनुपर्छ । त्यहाँ माओवादीले तीनचोटी सोध्नुपर्ने खालका निर्णयहरु छन् नि त । भोलि यदी माओवादीको यात्रा टुट्ने हो भने त्यो यात्रा अहिले किन नटुटाउने भनेर माओवादी गएको पो हो कि ? यो त अनुमान हो फेरि । हामीले राजनीतिक रुपमा अनुमान गर्ने हो । महासमितिमा भइरहेको कुरा माओवादीसँगको यात्राको सामजस्यता मिल्दैन थियो ।

प्रश्न: अब काँग्रेसको रणनीति के होला ? नयाँ समिकरण बनाउन चलखेल गर्ने वा चुपचाप बसेर रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने ?

जवाफ: काँग्रेसका युवा नेताहरुले नयाँ बाटो तय गर्नेतिर जालान् । जुन गइ नै रहेका छन् । काँग्रेसका बुढा पुराना मान्छेहरुले चाहीँ हेरौँ एकचोटी भित्रै कहिँ फाटो पार्न सकिन्छ कि हेरौँ, फाटो पार्न सकिन्छ भने फेरि एकचोटी गठबन्धन किन नगर्ने ? जे कुरा एमालेले अफर गरेको छ, त्यो भन्दा बढ्ता कुरा काँग्रेसले अफर गर्‍यो भने त आउँला कि ? भन्ने खालको हिसाव किताव पनि गर्ला । त्यहाँ भित्र पनि युनिफर्म ढंगले कुरा जाला भन्ने लाग्दैन । युवाहरु एकापटी होलान् । बुढाहरु अर्कोपटी होलान जस्तो लाग्छ ।

प्रश्न: अन्तिममा, नयाँ गठबन्धनलाई केही सुझावहरु छन् ?

जवाफ: घरीघरी गठबन्धन फेर्ने कुराले आम जनतामा ठिक म्यासेज गइरहेको छैन । यिनीहरु सत्ता जता पायो त्यता त्यता कुद्ने खालको हो । जहाँनिर सुप पाकेको छ त्यहीँनिर हामफाल्ने कुरा भयो भन्ने सन्देश भइराखेको छ । त्यसकारणले गठबन्धन यही बनाउने हो भने यसैलाई टिकाउ । घरीघरी गठबन्धन फेर्नु छ भने कारण जनतालाई खुलस्त रुपमा बताउ । मैले यो कारणले गठबन्धन फेरेँ । जनताले तर्कसंगत ढंगले ठिक, बेठिक भन्ला । एउटा मेरो सुझाव यो हो । दोस्रो कुरा, अहिले नेपाललाई रुपान्तरण चाहिएको छ । नेपालमा संविधान भन्दा नेताहरु ज्यादै पुड्को देखियो । संविधानमा धेरै राम्रो कुराहरु छन् । त्यो व्यवहारमा कार्यान्वयन नै भएन । शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा, बासको कुरा धेरै कुरा लेखिएको छ । जुन यदी कार्यान्वयन हुने हो भने नेपाल स्वर्ग जस्तो बन्छ । संविधानमा सर्वसम्मत् ढंगले लेखेको छ, त्यो त कार्यान्वयन गर्नु । जनतालाई आश्वस्त पार्नु, संविधान कागजको खोस्टो होइन । लेखेको कुरा अक्षरश: कार्यान्वयन हुन्छ भन्ने कुरा मेरो सुझाव हो । दलित सम्बन्धि, बधुवा श्रम सम्बन्धि सबै बारे छन् । संविधाको धाराहरुलाई कार्यान्वयनमा ल्याउनुपर्‍यो ।

तेस्रो, अहिलेसम्म रुपान्तरण भन्नेकुरा सिंहदरबार वरिपरि मात्रै घुम्यो । शहर, बजार वरिपरि मात्रै घुम्यो । यो गाउँमा गएन । गरिब वर्गकोमा त जाँदै गएन । गरिखाने वर्गलाई छुदै छोएन । परिवर्तन शहरमा मात्रै घुमिराख्ने परिवर्तनलाई जनताले गणतन्त्र भनेको होइन । गणतन्त्र भनेको त्यहाँपनि पुग्ने परिवर्तन हो । गरिब जनताको जीवनमा हेरफेर आउने परिवर्तन खोजेको हो । भूमिसुधार गरेर, कृषि क्रान्ति गरेर, औद्योगिक सुधार गरेर त्यहाँ पुग्नुपर्‍यो । संघीयता भनेको छ काम सबै केन्द्रीयताको भइराखेको छ । परिवर्तन गरिबलाई आवश्यकता परेको हो । गरिखाने वर्गलाई, गाउँलाई आवश्यक परेको हो परिवर्तन त्यहाँ पुग्नुपर्‍यो । नेताहरुको नैतिक चरित्र उदाहरणीय हुनुपर्‍यो । आम जनताको के छ भने नेताहरुको भन्ने शब्द सुन्नासाथ गाली सुरु हुन्छ । त्यो किन भएको ? त्यसलाई उल्ट्याउनु पर्‍यो नि । नेताहरु उदाहरणीय नभएर भएको हो । दश वर्ष अगाडी त्यस्तो थिएन । त्यसकारण, नेताहरु उदाहरणीय भएर प्रस्तुत हुनुपर्‍यो । नैतिकवान, चरित्रवान हुनुपर्‍यो । मेरो सुझाव यिनै हुन् । न्युज एजेन्सी नेपाल