काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको बताउनुभएको छ ।
११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताउनुभएको हो ।
उहाँले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताउनु भयो । उहाँले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताउनु भयो । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको बताउनु भयो । भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको बताउनु भयो । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरुको भावनामाथि खेल्ने देशविरोधी तत्वहरुको काम भएको बताउनु भयो । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरुले गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा संगठित र सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो, कतिपयलाई लागिरहेको थियो, अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । तर हामी जे भनेका थियौँ, सरकारबाट हो हामी बाहिरिएका छौँ । तर नेपाली जनताको हृदयमा गहिरो गरी बसेका छौँ । खरानीको खोक्रोबाट फेरि हामी उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ । आजको यो ऐतिहासिक जनसभाले पुष्टि गरेको छ । नेकपा एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ ।’
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरुलाई नेपालको आधारस्तम्भका रुपमा खडा गर्ने बताउनु भयो । बन्दसत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने बताउनु भयो ।










