१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा…

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा…
अ अ+ अ-

फिक्कल । माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो ।

उहाँले माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ ।काठमाडौँमा शिक्षण पेसा गर्दै आउनुभएको उहाँले २०७३ सालमा शिक्षण छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गर्नुभएको हो । उहाँको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित हुनुहुन्छ ।

देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताउनुभयो । “दश वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दु:ख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु”, उहाँले रासससँग भन्नुभयो, “वार्षिक रु आठदेखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।”

उहाँले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताउनुभयो । उहाँले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

उहाँले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उहाँले सुनाउनुभयो । उहाँले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गर्नुभयो ।

“बीउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ”, उहाँले भन्नुभयो, “बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।”

उहाँको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उहाँले बताउनुभयो । “फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु” उहाँले भन्नुभयो, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।”

उहाँले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाउनुभएको छ । चालीस रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उहाँले बताउनुभयो । उहाँले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

उहाँले सरकारबाट समेत सहयोग राम्रै पाउनुभएको छ । उहाँको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रु सात लाख अनुदान पाएको बताउनुभयो । सो अनुदानबाट आधुनिक खोर निर्माण गर्नुभएको छ । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ ।

पैसा कमाउन विदैश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडाँैको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापान सुरु गरेको कार्की बताउनुहुन्छ । “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ”, कार्की भन्नुहुन्छ, “निरन्तरता दिएर नवीनतम् ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।”

बाख्रापालनका अलावा उहाँले व्यावसायिक कफीखेतीसमेत गर्दै आउनुभएको छ । साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लगाउनुभएको छ । रासस