१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

अनि फेरियो साँखगाउँको मुहार

अनि फेरियो साँखगाउँको मुहार
अ अ+ अ-

त्रिवेणी । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ । मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ ।

विकासक्रमसँगै पछिल्लो समयम गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरु निर्माण पनि भइरहेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरु र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ । यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ । मेलामा पालोअनुसार नाट्य रुपमा एक साल माथि गाउँबाट र अर्को साल तलिगाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ । अनि पापिनी मेला सम्पन्न हुन्छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्‍याएको छ ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरु साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन् । साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन् । यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ । यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रुपमामा पनि सहज बनाएको छ । केही दशकदेखि पहिले दुर्गमको महसुुुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ ।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ पुग्न सकिने स्थानीय विकास पाण्डेले बताउनुभयो । राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौँ जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुुङ–पोखरा हुँदै काठमाडौँ एक दिनमा पुग्ने गरेको उहाँले सुनाउनुभयो ।

मध्यपहाडी सञ्चानलन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौँ जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन् । सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छभने विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन्भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन् ।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थायीय ८० वर्र्षीय पूर्णबहादुर बुढा अचम्म पुर्नुभएको छ । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ । “विंस २०६२/६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो । अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ । यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,” बुढाले भन्नुभयो । पहिले दाङ नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उहाँले सुनाउनुभयो ।

“पहिले मीठो खान दसँैतिहार पर्खिनुपथ्र्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपथ्र्यो,” स्थानीय ६५ वर्षीय मनकला थापाले भन्नुभयो । पछिल्लो समयको विकास देखेर भने उहाँ पनि खुसी हुन्हुन्छ । आफ्नो पालामा भोग्नुपरेका समस्याका बारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिर्वतन ल्याएको थापा बताउनुहुन्छ ।

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ । प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुपर्‍यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ । गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन् ।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले हिसाबले साँखगाउँ अगाडि बढेको छ । विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहँुचमा रहको छ । गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उहाँको भनाइ थियो । साँखगाउँमा खाद्यान्न बाली गहँु, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताउनुभयो । बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पुर्‍याएको छ ।

यहाँका स्थानीयहरु गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिर्वतन गर्न ठूलो भूमिका खेलेको छ । राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उहाँले बताउनुभयो । “साँखगाउँलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ । यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने हाम्रो योजना छ”, उहाँले भन्नुभयो ।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ । “पर्यटन प्रवद्र्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौं र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरमा जोडछौँ,” वडाध्यक्ष पाण्डेले भन्नुभयो । दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ । गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत रु ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो । रासस