२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन



अ+ अ-

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गर्नुभयो ।

भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘गाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ ।

कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सफलताको कामना गर्नुभयो । “नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेजको शुभारम्भ ऐतिहासिक र दुई देशबीचको सुमधुर सम्बन्धको सङ्केत हो”, उहाँले भन्नुभयो, “मोडेल डेरी भिलेजले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास छ ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

“कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ । यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ”, सचिव डा पौडेलले भन्नुभयो, “दूधको बिक्री र दुग्घजन्य वस्तुको उत्पादन गर्नेगरी आवश्यक तयारी सुरु गर्नुपर्छ ।”

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । “कोरिया सरकार, हेफर इन्टरनेशनललगायत सङ्घसंस्था र स्थानीय किसानको प्रयासबाट मोडेल डेरी भिलेजको अवधारणाले मूर्तरुप लिएको हो”, उहाँले भन्नुभयो, “होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।”

कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको ो हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको हो ।

दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो । सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए ।

हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी पाँच वर्षमा पाँच सय किसानलाई ती कोरली गाई वितरण गरिने छन् । कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । रासस