४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

‘झोलुङ्गे पुलले जोडेको मन’

‘झोलुङ्गे पुलले जोडेको मन’
अ+ अ-

गोदार । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षको हुनुभयो । उहाँले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आउनुभएको थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।

शनिबार त्यही पुल हेर्न आउनुभएका ९१ वर्षीय यादव जीवनको उत्तराद्र्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग हुनुहुन्थ्यो । खुसी हुँदै उहाँले भन्नुभयो, “झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ । अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाउनुभयो । “सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ । तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपथ्र्यो । झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ”, यादवले रासससँग खुसी व्यक्त गर्नुभयो । नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उहाँको भनाइ छ ।

उहाँ मात्रै होइन, सिरहा नगरपालिका–१३ का महावीर ठाकुर पनि निकै प्रफुल्ल हुनुहुन्थ्यो । स्वास्थ्य समस्या र विपत्तीकाबेला सहजरूपमा अस्पताल जान सजिलो हुने भन्दै उहाँ खुसी हुनुहुन्छ । “पुल नहुँदा वर्षायामको समयमा धेरै समस्या थियो । जोखिम मोलेर डुङ्गाबाट ओहोरदोहोर गर्दा पनि समस्या थियो । त्यही डुङ्गाबाट जाँदा दर्जनौँ नागरिकले ज्यान गुमाइसकेका छन् । अब भने सहज हुने भयो । निकै खुसी लागिरहेको छ ।”

जनकनन्दनी गाउँपालिका–४ खजुरीका रमेश साह मोटरसाइकलमा झोलुङ्गे पुल हुँदै वारपार गर्न पाउँदा अहिलेसम्म पाएका सबै दु:ख बिर्सिएको बताउनुहुन्छ । “कमला नदीमाथिको पक्की पुलबाट कहिले वारपार गर्न पाइने हो टुङ्गो नै छैन । तर झोलुङ्गे पुलबाट यति चाँडै आउजाउ गर्न पाउँदा पहिले भोगेका सास्ती सबै भुलाएको छ”, साहले खुसी हुँदै भन्नुभयो ।

धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदिको अवरोध छिचोल्न सहज भएको छ । अहिले मोटरसाइकल चालक र पैदल यात्रुहरुले यो पुलबाट वारपार गर्ने गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका—१३ मलहनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौँ मान्छे आउने गरेका छन् ।

समयअगावै बन्यो पुल

नेपालकै लामो भनिएको यो पुल सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरअन्तर्गत निर्माण भएको हो । विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी, थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो । सो कम्पनीसँग २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार २०८१ असारमसान्तसम्म पुल निर्माण गरिसक्नु पर्ने शर्त थियो । सोहीअनुसार २०७९ मङ्सिर २ गतेदेखि पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा छ महिना अगावै सम्पूर्ण कार्य सम्पन्न गरिएको कम्पनीका सब इन्जिनीयर उपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।

रु २१ करोड ५० लाख १० हजार सात सय लागत रहेको सो पुललाई नेपालकै लामो पुल भनेर दाबी गरिएको छ । यो पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइ छ । यसअघि सबैभन्दा लामो भनिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकाली नदीमाथि बनेको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई एक हजार चार सय ५३ मिटर लामो छ ।

यस्तै पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन रहेको निर्माण कम्पनीका सब इन्जिनीयर देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुलमा तीन हजार आठ सय ८६ पैदल यात्रीको भार क्षमता रहेको छ । कठाल मल्हनिया मल्टी स्पान झोलुङ्गे पुल सिरहा धनुषा नाम दिइएको यो पुलका लागि ३४ करोड बजेटको व्यवस्था भए पनि सार्वजनिक बोलपत्रको प्रकृयाबाट १९ प्रतिशत घटीमा निर्मण कम्पनीले ठेक्का लिएको थियो । त्यसबाहेक, बृज डिभिजनले पुलमा लाग्ने तीन करोड बराबरको लट्ठा छुट्टै निर्माण उपलब्ध गराएको देवकोटाको भनाइ छ ।

पुलकै प्राविधिक सरोज खड्काले कम्पनीको निर्देशनअनुसार दिनरात नभनेर काम गर्दा सम्झौता अमयावधिभन्दा अगावै पुल निर्माण सकिएको बताउनुभयो । उहाँँ भन्नुहुन्छ, “पुल नहुँदा यहाँका नागरिकले भोगिरहेको समस्या देख्यौँ । त्यसबाट चाँडै छुटकारा दिने सङ्कल्पअनुसार निर्माणमा संलग्न हामीहरु सबैले चाडवाड, झरी बादल, दिनरात केही नभनी काममा खटियौ । त्यसैको परिणाम हो यो । अहिले स्थानीयहरुको खुसी देखेर हामीलाई ठूलो आत्मसन्तुष्टि भइरहेको छ ।”

पुलको परिकल्पनाकारमध्येका इञ्जिनीयर विनोदकुमार मण्डलले यो पुल महेन्द्र राजमार्गको मात्रै होइन, अलपत्र हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको पनि विकल्प भएको बताउनुभयो । पुल निर्माणका लागि स्वयंसेवकको रुपमा सहयोग गरिरहेका मण्डलले भन्नुभयो, “धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माणाधीन कमला पुल अपलत्र छ । नागरिकसँग अर्को सहज विकल्प थिएन । अब यो पुल नै दुई जिल्लाका लाखौं नागरिकका लागि विकल्प बनेको छ ।”

हुलाकी सडकमा निर्माण गरिएको कमला पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न पूर्व–पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता हटेको इन्जिनीयर मण्डलले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएसँगै दूरी छोटिएपछि सिराहाको मल्हनिया, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, बनरझुल्ला, खजुरी, चन्हा, महुवा, बलहा, कठाल, सघारा र माचीझिटकैयाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

धनुषाको सबैला नगरपालिकाअन्तर्गत पटेर्वा र सिरहाको कल्याणपुर नगरपालिकाअन्तर्गतको चिकना जोड्ने कमला नदीको पक्की पुलको शिलान्यासको अवसर पारेर यसै महिना यस पुलको पनि उद्घाटन गराउने कार्यक्रम रहेको बताइएको छ ।

‘भारत पुग्नुपर्ने बाध्यता हट्यो’

धनुषाबाट सिरहा र सिरहाबाट धनुषा अर्थात् प्रदेश राजधानी जनकपुरधाम पुग्न महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन् । तर यहाँ न मोटर गुड्ने पक्की पुल छ न त विकल्प नै थियो । यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ । अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गरेर दुबै जिल्लाका सदरमुकाम पग्नुपर्छ ।

यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंशिकरुपमा भए पनि छुटकारा मिलेको छ । “राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ । भारतीय बाटो प्रयोग गर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने समस्याको अन्त्य भएको छ”, इञ्जिनीयर मण्डलले भन्नुभयो ।

शिक्षा र स्वास्थ्यमा पहुँच बढ्ने

पुल निर्माणले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढ्ने प्रादेशिक अस्पताल सिरहामा कार्यरत अर्थोसर्जन डा।रवि श्रीवास्तव बताउनुहुन्छ । लामो दूरीका कारण यसअघि स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हट्ने विश्वास जागेको उहाँले बताउनुभयो ।

त्यसैगरी जनकपुरधाम टाढा भएकाले धनुषाको जनकनन्दनी र कमला नगरपालिकाका कठाल, उदहा, सघारा, लगमालगायतका विद्यार्थीहरु सिरहामा पढ्दै आएका थिए । तर पुलको अभावमा निकै समस्या थियो । “जनकपुरधाम टाढा भएकाले यहाँका विद्यार्थीहरु प्राथमिक शिक्षादेखि उच्च शिक्षा पढ्नै सिरहा नै जाने गर्छन् तर पुल नभएका कारण निकै सास्ती थियो । अब केही हदसम्म समस्या समाधान भएको सिरहा नगरपालिका–७ का शिक्षक जयचन्द्र यादवले बताउनुभयो ।

बजारीकरणमा टेवा पुग्ने

त्यस्तै पुल निर्माणपछि यस क्षेत्रका किसानलाई कृषिउपजको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका रामसेवक यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो,“पुलको अभावले स्थानीयवासी किसानहरुलाई आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्‍याउन असहज भएको थियो । पुलको निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउनेछ ।”

धनुषाको खजुरीमा रहेका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर र सिरहामा रहेका मिथिलाका विभूति राजा सल्हेशको मन्दिरजस्ता पर्यटकीयस्थलमा पनि आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय रामविनोद यादव बताउनुहुन्छ ।रासस