काठमाडौं । सोमबारबाट गैंडाको गणना गर्ने तयारी सुरु भएको छ । वन मन्त्री प्रेमबहादुर आले हात्ती माथि चढेर गणना गर्न जंगलभित्र जान तयार भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जबाट सुरू गरिएको गैंडाको गणना चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर चैत मसान्तसम्ममा सक्ने तयारी छ।
यसअघि पछिल्लो पटक सन् २०१५ मा गैंडाको गणना गरिएको थियो। त्यसअघि पनि सन् १९९४, २०००, २००५ र २०११ मा गैंडाको गणना गरिएको थियो। उक्त गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए।
त्यसपछि पनि चितवन निकुञ्जमा मात्रै १६१ वटा गैंडा मरिसकेका छन्। तीमध्ये ६ वटालाई सिकारीले मारेका थिए। अन्य प्राकृतिक कारणले मरेको निकुञ्जले बताउने गरेको छ। यस वर्षमात्रै प्राकृतिक कारणबाट २२ र सिकारीबाट ४ वटा गैंडा मरेका छन्।










