काठमाडौं । यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि नपरोस् । तर, विधिको बिडम्बना नै हो जे नगरौँ भन्यो त्यही गर्नुपर्छ । त्यही देख्नुपर्छ तथा त्यही नै भोग्नुपर्छ ।
जाजरकोटमा शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको आज यहाँको स्थानीय नदीमा दाहसंस्कारका लागि यसरी लगिँदैछ । शुक्रबार दिउँसोसम्म सँगै थिए गाउँका दाजुभाई तथा दिदीबहिनीहरु । लाग्छ उनीहरु आउनै लागेको तिहार कसरी मनाउने भनेर तयारी पनि गर्दै थिए होला । तर तीमध्ये सबै बिहान उठ्न पाएनन् । कति त राति नै आफ्नै घरले थिचिएका थिए भने कति बिहानसम्म छट्पटाएर विदा भएका थिए ।
आज तिनैको दाहसंस्कारका लागि गाउँलेहरुले यसरी शव लिएर सामूहिक दाहसंस्कारका लागि लग्दैछन् । तस्बिरमै हेर्दा पनि हेर्न नसकिने यो दृश्य त्यहीँ पुग्दा कस्तो होला ? सोच्न, कल्पना गर्न पनि गाह्रो छ । मानिसको जीवनका जिजीविशाहरुको सार र स्वरुप यस्तै हो जो सोच्न नसक्ने अवस्थालाई नै प्रत्यक्ष देख्न र भोग्नु नै पर्छ ।
सबै भगवानहरुलाई अनुनय छ- आज जाजरकोटमा दुखेको दु:ख अन्यत्र कतै नदुखोस् । यस्तो अकालको कालले कसैलाई शिकार नगरोस् ।
तस्बिर : सुरेश आचार्य/रासस