२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने काम असहज भयोः ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने काममा असहज भएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उहाँले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने काम असहज बन्न गएको बताउनुभएको हो ।

माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनुभएको थियो ।

त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु-याउने काममा सक्दो सहयोग गर्ने बताउनुभएको थियो । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताउनुभएको एमाले उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो । भूटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ । त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको कुरा उठाउँदै उहाँले आफ्ना ३ वटा एजेण्डाहरु रहेको बताउनु भयो । खास गरेर नेपाली चाहीँ जलवायु परिवर्तनका कारण जुन पीडाहरु भोग्नु परेको छ । यो विषयलाई म नजिकबाट हेर्न चाहन्छु । र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भन्नु भएको छ । दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौं भन्नुभयो । र, तेस्रो चाहीँ शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भनेर आफूले चाहेको उहाँले बताउनु भयो । हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहीँ पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं । तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुुन्छ । उहाँले नै यी सबै विषयहरु टुंग्याउन भुमिका खेल्नुपर्नेमा चाहीँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिने जुन कुराहरु भयो । यसले पीडितहरु अलिकति चिन्तामा छन् । हामीले चाहीँ शान्ति प्रक्रिया टुंग्याउँदाखेरी गम्भिर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तराष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौं । र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपालले सकारात्मक योगदान गर्दागर्दै पनि आफूले नगरेको गल्ती भोग्न परिरहेको कुरा बताउनु भयो । र, यसमा अन्तराष्ट्रिय समूदायको सहयोगको अपेक्षा गर्नु भयो । त्यस्तै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो । र, संयुक्त राष्ट्र संघलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरुको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौं भन्नुभयो ।’

महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरुको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताउनुभएको थियो ।

तस्बिर : किरणराज बिष्ट/रासस