२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम



फाईल फोटो
अ+ अ-

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।

बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ ।
तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिनुभयो ।

विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उहाँले बताउनुभयो । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ ।

कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरुप विभिन्न जिल्लामा बोरका बोका बिक्री गर्ने गरिएको छ ।

दूध र चीजका लागि सानन बाख्रा

त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।

बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उहाँले बताउनुभयो । बाख्राको दूधबाट बनेको चिज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ ।

विगत पाँच वर्ष अघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई सीप हस्तान्तरणसमेत गर्नुभएको थियो । पोखराको लेकसाइड र काठमाडौँका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भन्नुभयो, “याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।”

पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक बयालिस लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ ।

उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिनुभयो । रासस