२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक घरले गाउँको मौलिकता घुम्ने खतरा



अ+ अ-

ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र घरका थुप्रै घर भेटिन्थे तर अहिले त्यस्ता घर भेटिन छोडेका छन् । अहिले बनेका घर कङ्क्रिटले ढलान गरिएका वा जस्तापाताले छाइएका पाइन्छन् । ढुङ्गा तथा खरले छाना छाउन छोडिएको छ ।

सडक सञ्जालले ग्रामीण क्षेत्र जोडिएसँगै बजारिया रहनसहन त पुग्यो नै त्यससँगै घर पनि बजारकै जस्तो बन्न थालेका छन् । पहिले गाउँका घर ढुङ्गा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे । सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरहरुले मनै लोभ्याउने गर्थे तर अहिले बन्ने गरेका कङ्क्रिटका घरहरुले गाउँको पहिचान लोप हुँदै गएको छ । हरेक दिन गाउँमा सडक निर्माण भइरहेका र त्यसको प्रभाव ती पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत खर तथा ढुङ्गे घरहरु गाउँबाट बिस्तारै ओझेलिँदै छन् ।

जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पाँच वर्ष अगाडिसम्म अधिकांश घरहरु ढुङ्गा र केही खरले छाइएका थिए तर अहिले ती बस्तीहरुमा विभिन्न रङ्गका जस्तापाताले छाएका रङ्गीचङ्गी घर देखिन्छन् । अहिले गाउँलेहरुले सहर बजारकै जस्तो घर बनाउन थालेको स्थानीयवासी भवीन्द्र बुढामगरले बताउनुभयो ।

“हामीहरु सानैदेखि ढुङ्गाका, खरका घरमा खेल्दै हुर्किएका हौँ, अबका हाम्रा पुस्ताले त्यस किसिमको घर देख्न नपाउने भए, अहिले त गाउँमा पनि सिमेन्टका पक्की घर बन्न थालेका छन्, सिमेन्टका घरले गाउँको मौलिकता हराउन थालेको आभाष हुन थालेको छ,” उहाँले भन्नुभयो, “गाउँमा सिमेन्टका घर बनाउन सम्बन्धित निकायले रोक लगाउनुपर्छ जस्तो लाग्छ, गाउँ नै बजारजस्तो भए पछि नेपालीको पहिचान कस्तो बन्ला रु, गाउँ त हाम्रो इतिहास हो, गौरव हो ।”

ढोरपाटन नगरपालिका–८ बोबाङमा पनि एक दशक अगाडिसम्म अधिकांश घर खर, ढुङ्गा र काठका थिए । काठकै छानो, काठकै झ्याल ढोका भएका घरले बोबाङको पहिचान बनाएकामा अहिले पक्की घर बन्न थालेको अर्का स्थानीयवासी नरबहादुर पुनले बताउनुभयो । अहिले नि यहाँको विभिन्न ठाउँको नाम ढुङ्गे गाउँ, पल्लेघर लगायतले परिचित रहेकामा आधुनिकताले सबै मौलिकता ओझेलमा पार्दै गएको उहाँको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गाउँको मौलिकता जोगाउन कङ्क्रिटका घर बनाउन रोक लगाइने बताउनुभयो । पछिल्लो समय गाउँ–गाउँमा सिमेन्टका भवन बन्न थालेको हुँदा गाउँपालिकाले यहाँको केही गाउँलाई मौलिक गाउँका रुपमा विकास गर्ने गरी योजना बनाएको बताउनुभयो । सडकका कारण मौलिक घर हराउँदै गएको उहाँले गुनासो गर्नुुभयो । तमान गाउँमा भएका घरलाई अब एकै रङ्गका, एउटै ‘डिजाइन’ मा निर्माण गरिने अध्यक्ष बुढामगरको भनाइ थियो ।

“तमानखोलाका केही ठाउँमा कङ्क्रिटका केही घरहरु बनेका छन्, अब बन्ने घर त्यसरी मन लाग्दी बनाउन नपाउने गरी योजना बनाउँछौँ, गाउँको पहिचान र मौलिकतासँग जोडेर घर बनाउनुपर्ने नीति ल्याउँछौँ, तमान गाउँलाई मौलिक गाउँकै रुपमा विकास गर्ने उद्देश्य छ,” उहाँले भन्नुभयो, “अहिले गाउँमा बनेका घर स्वास्थ्यका हिसावले फाइदाजनक छैन, किनकि गाउँमा चिसो हुन्छ्, त्यसमाथि सिमेन्टका घरहरुले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको छ, पुस, माघ महिनामा त्यस्तो घरमा बस्न सकिने रैनछ ।” रासस