६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पर्यटक कुरिरहेको बेगनास

पर्यटक कुरिरहेको बेगनास
अ+ अ-

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो ।

“यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै १”, पाण्डेले भन्नुभयो, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उहाँले बताउनुभयो ।

बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । “भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन”, पाण्डेले सुनाउनुभयो, “अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चाररपाँच वटा चल्न पनि धौधौ छ ।”

स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । “सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ”, डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भन्नुभयो, “हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।” आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उहाँको भनाइ थियो ।

कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । “पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ”, उहाँले भन्नुभयो, “डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।”

तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।

अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताउनुभयो ।

“दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न”, उहाँले भन्नुभयो, “आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।”

शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाउनुभयो । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उहाँको भनाइ थियो ।

भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिनुभयो । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

“पर्यटक आउन छाडेपछि तलब खान पनि धौ–धौ परिरहेको छ । अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो”, भुजेलले भन्नुभयो, “कोभिड–१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो । मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ ।” आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उहाँले उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताउनुभयो । “पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ”, उहाँले भन्नुभयो, “त्यसमाथि अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ ।”

वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राख्नुभयो । “सरकार र पर्यटनसम्बन्धी संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्‍यो । पूर्वाधारमा लगानी बढाउनुपर्‍यो”, उहाँले भन्नुभयो, “प्रदेश सरकार र पोखरा महानगरले यसलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।”

प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । “प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो”, उहाँले भन्नुभयो, “धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।”

सात तालको बाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्ने वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेगनास नजिकै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । सहरको कोलाहल र व्यवस्ता छलेर छिनमै पुग्न सकिने प्रकृतिमय गन्तव्य हो बेगनास क्षेत्र ।

फेवातालको बाराही र बेगनासमा रहेको बराहबीच साइनो रहेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष कँडेलले बताउनुभयो । “बराह क्षेत्रको पुरातात्विक महत्व छ । यो सदियौँ पुरानो धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यसप्रति अथाह विश्वास र जनआस्था गाँसिएको छ । यहाँ पुजा गरे कुनै दुर्घटना नहुने विश्वास गरिन्छ ।”

बेगनास तालको उत्तरपट्टि रहेको बराह मन्दिरमा पूजापाठ गर्नाले स्थानीय जलारी र डुङ्गा व्यवसायीलाई लाभ पुग्ने, कुनै दुर्घटना नहुने विश्वास रहेको कँडेलको भनाइ थियो । “चेतै र बडादसैँमा पञ्जबलीसहित बराह मन्दिरमा विशेष पूजाआजा हुन्छ”, उहाँले भन्नुभयो, “मन्दिर पुन:निर्माणसहित बृहत्तर विकासको योजना अगाडि बढाइएका छौँ ।”

बराह क्षेत्रको पूर्वाधार विकासमा गत आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र चालु आवमा रु ३० लाख बजेट दिएको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । “विसं २०३४र३५ सालअघिसम्म बेगनास तालबारे धेरै कमलाई थाहा थियो । यसको खासै चर्चा थिएन”, उहाँले भन्नुभयो, “विस्तारै पूर्वाधार बने । प्रचारप्रसार पनि भयो तर अझै पनि पर्यटनबाट उल्लेख्य लाभ बेगनासले उठाउन सकेको छैन ।”

उहाँका अनुसार बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको वडाध्यक्ष कँडेलको भनाइ थियो । “ताल वरिपरि फुट ट्रायक, बगैँचा, विश्रामस्थल बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “स्तरीय होटल, रेष्टुराँसहित सुरक्षाको प्रत्याभूति दिनसके बेगनासमा पर्यटक भित्रिन्छन् ।” रासस