२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा फस्टाउँदो ड्रागन खेती



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट रु।आठ लाख बराबरको ड्रागन बिक्री गरिसक्नुभएको छ ।

विसं २०७९ वैशाखदेखि व्यवसाय थाल्नुभएकी गौलीले एक वर्षको अवधिमा आठाँै पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताउनुभयो । “अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उहाँको आशा रहेको छ ।

उहाँलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उहाँले बताउनुभयो । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’’,उहाँले भन्नुभयो ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’’ उत्पादित ड्रागन प्रतिकिलो रु।पाँच सयदेखि रु।छ सयसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक रु।२० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उहाँले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाउनु भएको छ ।

उहाँले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रु १० हजारका दरले खर्च भएको उहाँको भनाइ छ ।

त्यसैगरी कृषक गौलीले यस वर्ष रु तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रतिबिरुवा रु दुई सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । उहाँको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।

त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गर्नुभएको छ । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ रहेको छ । निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित हुनु भएको छ । व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयस्तरमा उत्पादित अग्र्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । रासस