६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

५१ वर्षीय दुजी भन्नुहन्छ– नातिले तपाईँलाई त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेपछि स्कुल भर्ना भए

५१ वर्षीय दुजी भन्नुहन्छ– नातिले तपाईँलाई त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेपछि स्कुल भर्ना भए
अ+ अ-

जानकी । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई सिकाउने शिक्षिका हुनुहुन्छ । तर उहाँ शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुनुहुन्छ ।

दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहनुभएको छ । उमेरले ५१ वर्ष पुगीसक्नुभएकी दुजीकुुमारीलाई उहाँका नातिले पढ्नका लागि हौसाएको बताउनुहुन्छ । “नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ”, दुजी भन्नुहुन्छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उहाँको भनाइ छ । “मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला”, उहाँ भन्नुहुन्छ ।

आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउनुहुन्छ । “मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्”, उहाँले भन्नुभयो, “ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ”, उहाँले भन्नुभयो, “मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।”

पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आउनुभएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्नुहुन्छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उहाँले बताउनुभयो । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्नुहुन्छ । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उहाँले बताउनुभयो । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उहाँको भनाइ छ ।

शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताउनुभयो । कक्षामा उहाँ शिक्षकले पढाएको मज्जाले बुझ्नुहुन्छ । दिएको गृहकार्य पनि सबै गरेर आउनुहुन्छ । अक्षर पनि निकै सफा छ उहाँको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उहाँको जीवनको एउटै धोको छ ।

दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गर्नुहुन्छ । प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याई हुन्छ । कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्नुहुन्छ ।

प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपश्चात पारिवारिक बन्धनमा बाँधिनुभएकी उहाँले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माउनुभयो । सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो । समय बित्दै गयो । प्रेमकुमारी पनि छ सन्तानको आमा बन्नुभयो । एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उहाँको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाइलाई उहाँले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सक्नु भएन ।

“विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ”, तर घरमा त्यो वातावरण नै भएन । श्रीमान्को माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ”, उहाँले भन्नुभयो, “भगवान्ले भन्नुहुन्छ तँ आँट म पुर्याउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे भगवान्ले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो ।”

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ प्रेमकुमारी । आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उहाँ नियमित स्कुल जाने गर्नुहुन्छ । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छाड्नुभएकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उहाँले बताउनुभयो ।

“मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ । मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो”, उहाँले भन्नुभयो, “कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।” आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाउनुभएका श्रीमान् जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उहाँ नियमित स्कुल जान पाइरहनुभएको छ ।

“स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो”, खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमान्ले पढ्नलाई अनुमति दिएको कुरा सुनाउनुभयो ।

प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । “बुढेसकालमै भए पनि श्रीमान्ले स्कुल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ”, उहाँले भन्नुभयो, “बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।”

प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्नुहुन्छ हरिकला नेपाली पनि । उहाँले उमेरले ३६ वर्षको हुनुभएको छ । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताउनुभयो । उहाँका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उहाँललाई हौसला दिएको बताउनुभयो ।

“पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो”, हरिकलाले भन्नुभयो, “छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।” हरिकलालाई वैदेशिक रोजगारमा रहनुभएका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उहाँले बताउनुभयो ।

पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहनुभएकी हरिकालालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उहाँलाई अहिले लाज हराएको बताउनुभयो । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्नुहुन्छ । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण ।

ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उहाँहरू स्कुल आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।” सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् । रासस