२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा सारियो



अ+ अ-

काठमाडौँ । चितवनका दुई पोथी गैँडा पुष्पा र अञ्जली आजबाट कोशी टप्पुमा स्थानान्तरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो । पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग घोरमा राखेर कोशी टप्पु पुर्‍याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ । पानी सहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् । कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरु दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो । सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ ।

वंश बिस्तारको योजना अनुसार कोशी टप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजनन योग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् । पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुग्नुभएको थियो । उहाँले मानिस सँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताउनु भयो ।

मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैँडा वंश बिस्तारका लागि ल्याइएको हो । केहि समयमै काठमाण्डौंबाट भाले गैंडा कोशी टप्पु ल्याइने समेत उहाँले जानकारी दिनुभयो । मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताउनु भयो । उहाँले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउने बताउनु भयो । बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको बताउनु भयो ।

कोशी टप्पुबाट २०७३ सालमा अर्नाको वंश बिस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो । सोही अनुरुप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।