९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

वार्षिक रु १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ: गभर्नर अधिकारी

वार्षिक रु १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ: गभर्नर अधिकारी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक रु १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले व्यापार घाटा कम गर्नका लागि विद्युत् निर्यात नै उपयुक्त माध्यम भएको बताउनुभयो । मुलुकको व्यापार घाटा घटाउने उपयुक्त माध्यमका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा नेपाल राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने भएको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीले बैंक तथा वित्तीय संस्थाले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कूल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गर्नुभएको थियो । जवाफमा गभर्नर अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताउनुभयो ।

इप्पानले भने तत्कालै करिब तीन हजार सात सय मेगावाट क्षमताका आयोजना विकास गर्दा आउँदो पाँच वर्षमा झन्डै रु पाँच खर्ब ५५ अर्ब, नेपाल र भारतबीच भएको विद्युत् निर्यातको सम्झौतासमेत जोड्ने हो भने १० वर्षमा झन्डै रु २० खर्ब ५५ अर्ब र ऊर्जा दशकको घोषणाअनुसार २५ हजार मेगावाट थप उत्पादन गर्ने भएमा रु ३७ खर्ब ५० अर्बभन्दा बढी लगानीको आवश्यकता पर्ने बताएको छ ।

राष्ट्र बैंकले दुई सय मेगावाटभन्दा ठूला आयोजनालाई आधार दरमा एक प्रतिशतमात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत् आयोजनामा कार्यान्वयन गरिदिन इप्पानले आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनअनुसार निर्माणाधीन अवस्थाको ब्याज आम्दानीलाई लाभांश बाँड्न नमिल्ने र ‘मोराटोरियम पिरियड’ थप गर्दाको अवस्थामा कर्जा पुन:संरचना र पुन:तालिकरण भएको मानी १२ दशमलव पाँच प्रतिशतको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय क्षेत्र यस क्षेत्रमा थप लगानी गर्न हतोत्साहित भएको इप्पानको भनाइ छ ।

यसमा निर्माणाधीन अवस्थाको ब्याज आम्दानीबाट समेत लाभांश बाँड्न पाउने यसअघिकै व्यवस्थालाई निरन्तरता दिन इप्पानले माग गरेको छ । नेपाली बैंक वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज अत्यधिक महँगो भएको भन्दै नेपाल सरकारको जमानतमा अन्तर्राष्ट्रिय बजारबाट नविनतम् वित्तीय उपकरणहरु जस्तै: सोभरियन बन्ड वा ग्रीन बन्ड वा जलवायु बन्डको माध्यमबाट वित्तीय स्रोतको जोहो गरी नेपाल राष्ट्र बैंकमार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा पुन:कर्जाको व्यवस्था गरिदिन पनि इप्पानले अनुरोध गरेको थियो । जवाफमा गभर्नर अधिकारीले बन्डको विषय अर्थ मन्त्रालयको भएको तर राष्ट्र बैंकले त्यसमा सहजीकरण गर्न तयार नै रहेको बताउनुभयो ।

दस वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने राष्ट्रिय चाहनालाई पूरा गर्न बैंक तथा वित्तीय संस्थाले पुँजीका रुपमा समेत लगानी गर्न सक्ने र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आवश्यक हेजिङ, लगानी तथा लाभांश र लगानी फिर्तासम्बन्धी नीति नियम सहज, छिटो र पारदर्शी बनाइदिन पनि इप्पानले गभर्नर अधिकारीसँग अनुरोध गरेको छ ।

त्यस्तै इप्पानले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा जलविद्युत् आयोजनाको जोखिम भार एक सय प्रतिशत कायम गरिएकामा यसलाई घटाएर सञ्चालनमा रहेका आयोजनाको हकमा ५० प्रतिशत र निर्माणाधीन आयोजनाको हकमा ७५ प्रतिशत कायम गरिदिन पनि आग्रह गरेको छ ।

बाढी पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजना पुन:निर्माण तथा निर्माण सम्पन्न गर्न र यी आयोजनाहरु रुग्ण हुनबाट बचाउन ब्याज अनुदान र पुनरकर्जा, ब्याज पुँजीकरण, कर्जा पुन:संरचना तथा मोराटोरियम पिरियड थप गर्नेलगायतका आवश्यक नीतिगत व्यवस्था गरिदिन पनि इप्पानले गभर्नर अधिकारीसँग आग्रह गरेको छ ।

भेटमा राष्ट्र बैंकका गभर्नर अधिकारीसँगै डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा गुणाकर भट्ट र देवकुमार ढकाललगायत सहभागी हुनुहुन्थ्यो । इप्पानका तर्फबाट अध्यक्ष कार्कीसँगै वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं, उपाध्यक्ष रामप्रसाद आचार्य र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सदस्य सुसन कर्माचार्य र कुवेरमणि नेपाल सहभागी हुनुहुन्थ्यो । रासस