२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने



अ+ अ-

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताउनुभएको हो । “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौँ”, आचार्यले भन्नुभयो, “नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।”

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई केही समय कुरौँ र आग्रह गरौँ, यदि केन्द्रले वास्ता नगरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने आश्वाशन दिनुभएको जानकारी पनि प्रमुख आचार्यले दिनुभयो ।

पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उहाँको जोड छ ।

पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यको जोड छ । पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्नेमा उहाँले आग्रह गर्नुभयो । पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको भनाइ उहाँको छ । पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उहाँको जोड छ ।

संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरु गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्यु समेत हुने गरेको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण बनाए उनीहरुले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताउनुभयो ।

सङ्घका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो । साथै अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ । रासस