२४ श्रावण २०८३, आईतवार
,
Latest
सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

खेलमा पहिलो अग्रता भने पारो एफसीले लियो । खेल सुरु भएको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरुआती अग्रता दिलाए । पारो एफसीले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्कायो । मछिन्द्रका खेलाडी विमल घर्तीमगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत सुन्दर गोल गरे ।

यसैगरी खेलको १५ औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले ओमोलाजा करिमको पासमा गोल गरेका हुन ।

खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे ।

यस जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्नेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । यस खेलको विजेताले बङ्गलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग आगामी भदौ ५ गते खेल्नेछ ।

मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । जसमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।  रासस