काठमाडौ । कवि, गीतकार, मुक्तककार, उपन्यासकार, चलचित्र लेखक, निर्देशक, लोक संस्कृतिविद एवम् संकलक चेतन कार्कीको आज निधन भएको छ । केही दिन अघि भारतको देहरादुनस्थित घरबाट नेपाल फर्किए पछि उहाँलाई ज्वरो आएको थियो ।
ज्वरो आएपछि छाउनीस्थित सैनिक अस्पतालमा गत आइतबार भर्ना हुनुभएका कार्कीको आईतबार बिहान निधन भएको हो । स्याङ्जाको वाँटरी गाउँमा १९९५ साल कार्तिक २१ गते जन्मिएर भारतको देहरादुनमा हुर्किंदै शिक्षा–दीक्षा प्राप्त गर्नुभएका कार्की २० को दशकबाट लेखनमा प्रवेश गरेका गर्नुभएको थियो ।
२०२३ सालमा कल्याण शेरचनको कल्याण पकेटबुक्सबाट आत्मा बेचेको छैन उपन्यास प्रकाशनसँगै गीत, मुक्तक, कविता र लोकसंस्कृतिमा उहाँको ठूलो योगदान रहेको छ ।
परिवर्तन, सिन्दूर, जीवन रेखा, कान्छी, भुमरी, बदलिंदो आकाश, कन्यादान, पहिलो प्रेम लगायतका चलचित्रमा गीत लेखन गरेका कार्कीले परिवर्तन चलचित्रबाटै हीरासिंह खत्रीको सहायक भई निर्देशनको काम शुरु गर्नुभएको थियो । का थिए । उनले लेखेका चलचित्रका गीतमा गोपाल योन्जनले सबैभन्दा धेरै संगीत दिएका छन् ।
बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाका, बैनीको दया छ भने, छोरीको जन्म-हारेको कर्म, तीजको लहर आयो बरीलै, कस्तूरी है बास आउँछ भन्छन्, जतिको माया मेचीलाई-उति महाकालीलाई, कान्छी हे कान्छी लगायतका दर्जनौं गीत कालजयी बनेका छन् ।
जून निदाउन थाल्यो, माया प्रीतिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) पुस्तक प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ ।
आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून उनका चर्चित उपन्यास मानिन्छन् । पछिल्लो समय उनी संगीतकार नारायण वलीको संगीतमा आफ्नो एल्वम निकाल्ने तयारीमा थिए । १ श्रीमती र दुई छोराका साथमा ललितपुरमा बसोबास गर्दै आउनु भएका कार्कीको निधनले नेपाली कला,साहित्य र संस्कृति क्षेत्रको एक धरोहर गुमाएको छ ।











