२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

खरीदभन्दा ढुवानीमा खर्च बढी

खरीदभन्दा ढुवानीमा खर्च बढी
अ अ+ अ-

सन्तोष पुर्कुटी 

ताप्लेजुङ । एक वर्षअघि सम्म चीनसँगको सीमावर्ती यहाँको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामग्री तिब्बतबाट खरीद गर्थे । ओलाङचुङगोलामा उत्पादित गलैँचा, घीउ, छुर्पीलगायत सामग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट यहाँका बासिन्दाले खाद्यान्नसहितका सामान ल्याउने गरेका हुन् । 

अर्कातर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्यवस्तुलगायत घरायसी सामान खरीद हुने गरेको थियो । यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङसम्म मालवाहक र त्यसपछि याक–चौँरीलाई बोकाएर बस्तीसम्म ल्याउने गरिन्थ्यो । 

तिब्बतका व्यापारीले टिपतालासम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोलासम्म याक, चौँरीलाई बोकाएर ढुवानी गर्दा प्रतिकिलो रु २५ देखि ३० सम्म पर्न जान्थ्यो । यसरी तिब्बतका बजारसँग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजारभन्दा टाढा रहेका ओलाङचुङवासीलाई सहज थियो । पछिल्लो एक वर्षदेखि कोरोना सङ्क्रमणका कारण पूर्णरुपमा टिपताला नाका बन्द हुँदा यहाँका बासिन्दालाई सास्ती भएको छ । कोरोना सङ्क्रमण फैलिने भन्दै एक वर्षअघिदेखि नै चीनले पूर्णरुपमा उक्त नाका बन्द गरेपछि तिब्बततर्फ आयात निर्यात पूरै ठप्प छ ।
 
नाका बन्द गरिँदा सङ्क्रमणको जोखिम न्यूनीकरण भए पनि आयातनिर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो । यहाँ उत्पादित गलैँचालगायत सामान चीनतर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएका छन् । गलैँचा मात्रै नभई घीउ, छुर्पी, जडीबुटीसमेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आम्दानी घटेको छ । विशेषगरी यहाँ उत्पादित गलैँचा र जडीबुटीको मुख्य बजार भनेकै तिब्बत हो ।

अर्कातर्फ दैनिक उपभोग्य सामान सदरमुकामबाट लैजानु पर्दा खरीद मूल्यभन्दा बढी ढुवानी खर्च लाग्छ । सदरमुकाम फुङलिङमा खरीद गरिएको सामान मालवाहक तथा सवारी साधनमा लेलेपसम्म र त्यहाँदेखि माथि भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नुपर्छ । यसरी ढुवानी गर्दा प्रतिकिलो रु ६० देखि ८० सम्म पर्ने गरेको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

खच्चडलाई बोकाए केही सस्तो र मान्छेलाई बोकाए महँगो पर्ने गरेको छ । “नुन, तेल, चिनीलगायत कतिपय सामानको खरीद मूल्यभन्दा बढी ढुवानी मूल्य पर्छ, विगत एक वर्षदेखि यहाँका बासिन्दालाई ठूलो खर्चमा खाद्यान्नसहितका सामग्री ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अझ बर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ । बर्खे झरीले कतै पहिरो चल्ने त कतै खोलाखोल्सा बढेर ओहोरदोहोरमा कठिनाइ हुने गरेको हो । त्यसैले मध्य बर्खाअघि नै चाहिने सामान ढुवानी गरिसक्नुपर्ने स्थानीयवासीले बताएका छन् ।

लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तीमा एक दिन वा त्योभन्दा बढी समय पनि लाग्नेगर्छ । अर्कातर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पुर्‍याउनसमेत ढुवानी खर्च बढी लाग्ने हुँदा कठिन छ । प्रायः यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन् ।

ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ । उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गलैँचा हो । त्यसपछि जडीबुटी, घीउ, छुर्पी पर्छन् । चीनतर्फ निर्यात नभएकाले आम्दानी नहुँदा थप समस्या भएको स्थानीयवासीको भनाइ छ । कहिलेकाहीँँ वडाबाट हुने कतिपय भौतिक पूर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आम्दानीका गतिविधि पनि सङ्क्रमणकै कारण ठप्प भएको स्थानीयवासीले बताएका छन् । रासस