२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

कोरोनाको पीडा: बिरानो लाग्दै आफ्नै गाउँ टोल

कोरोनाको पीडा: बिरानो लाग्दै आफ्नै गाउँ टोल
अ अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।

सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गर्नुभएका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन  भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था भने रहेन ।

उपाध्याय र कार्की मात्रै होइन अहिले म्याग्दीका प्रायः सबै मानिस घरभित्र नै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकाकी मनस्थिति बनेको धेरैको भनाइ छ ।

“आफ्नै गाउँ टोल नै बिरानो लाग्न थाल्यो, वल्लो पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो”, बगरफाँटका ६५ वर्षीय पदमपाणि शर्माले भन्नुभयो, “बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो बूढेसकालमा पहिलो पटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै  ?”

गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी, अ‍ैँचोपैँचो र झाराश्रमदान हो । प्रत्यक्षरूपमा भेट भएर सुखदुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, परालबाट बुनेका गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा पहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घरव्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देशविदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

अहिलेको अवस्था वाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । “आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै पर्यो”, स्थानीयवासी खड्गबहादुर थापाले भन्नुभयो, “घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु यो बाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन ।”

“खेतबारीमा हरियाली छाएको छ । हावा चल्दा मकैका पात बज्छन् । वन जङ्गलमा कोइली कराउँछ । मकै गोड्ने समय भएकाले खेतमा अलिअलि मात्र खेताला देखिन्छन् । समयसमयमा मोबाइलको घण्टी बज्दा हुने कुराकानी र घरका सदस्यबाहेक अरुसँग प्रत्यक्ष दोहोरो संवाद नभएको धेरै भएको छ”, थापाले भन्नुभयो, “कस्तो समय आयो, आफ्नै गाउँ, आफ्नै ठाउँ र आफन्तहरु नै बिराना पो लाग्न थाले ।” 

अहिले म्याग्दीका छ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ । एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा आइतबार साँझसम्म ४२० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गण्डकी प्रदेशको ‘हटस्पट’ बनेको म्याग्दीको एउटै बस्तीमा ३५ जनाभन्दा बढी सङ्क्रमित भेटिएपछि स्थिति भयावह बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । 

वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने आइतबार पोखरामा उपचाररत म्याग्दीका एक व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

समुदायस्तरमा कोरोना फैलिनुमा विवाह, ब्रतवन्धलगायतका धार्मिक कार्य, मृत्यु संस्कार र ती कार्यमा हुने भीडभाड नै मुख्य कारण रहेको ठहर गरिएको छ । ती कार्यलाई रोक्न वा कम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ ।