५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं ।  परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोधसमेत गरेको छ ।

यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको मन्त्रालयले बताएको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएरमात्र विदेश जान सरकारले अनुरोध गरेको छ । यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्राय: सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ । म्यानमारमा पुगेर बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावास बैँकक तथा याङ्गुनमा सम्पर्क गर्ने गरेको पाइएको छ ।

नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही सङ्ख्यामा नेपालीको उद्धार गरिसकेको र थप नेपालीको उद्धार  गर्ने प्रयास भइरहेको बताइएको छ । म्यानमार द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारमा चुनौती हुने गरेको मन्त्रालयले जनाएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/Travel-Advisory.pdf” title=”Travel Advisory”]