३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

विद्यार्थी तथा अभिभावकको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

विद्यार्थी तथा अभिभावकको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’
अ+ अ-

गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोड्नु भएको छैन । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहनुभएको छ ।

“खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो”, सावित्री नेपालीले, “पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई  विद्यालय जान सहयोग गर्दै आउनुभएको छ ।”

चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटक–पटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उहाँलाई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उहाँको भनाइ छ ।

सावित्री नेपालीसँगै सीप सिक्दै आउनुभएका पोखरा– १५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रुपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाउनुभयो ।

विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उहाँको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रुपमा व्यवसाय गर्ने सोच समेत बनाउने जानकारी दिनुभयो ।

नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन् । विद्यालयले बर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन् । बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ । विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिनुभयो । सो अवसरमा विद्यालयले सामग्री बिक्री गरे रु १८ हजार आम्दानी गर्न सफल भएको थियो ।

उहाँका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कैची जस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवम् होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, ट्स्यु पेपर बक्स, फोटो फ्रेमलगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन् । बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो ।

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले  यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको आज एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदै अन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै  कास्की जिल्लामा प्राविधिक विषय अन्तर्गत पहिलो पटक वन विज्ञानको पढाइ सुरु गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तादिम परिषद् ९सिटिइभिटी०को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उहाँले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रुपमा अध्ययापन गराउँदै आउनु भएको छ ।

विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको रु २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ । तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०/३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय  एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उहाँको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने  कार्यक्रम रहेको उहाँको भनाइ छ । विसं २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवम् सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिनुभयो । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उहाँको भनाइ छ । रासस