२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरण



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरणको दोस्रो हप्ताको कार्यक्रम गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल चोकबाट सुरु भएको जागरण यात्राको आरम्भमा वैदिक पण्डितले मन्त्रोच्चारण गरी कार्यक्रम आरम्भ भएको हो ।

जागरण यात्रा चन्द्रविनायक मन्दिर, मित्रपार्क, सिफल, जयवागेश्वरी, भुवनेश्वरी हुँदै वनकालीमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय, स्थानीय क्लब एवं सङ्घ संस्थालगायत स्थानीयवासी र जनप्रतिनिधि सहभागी थिए । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले स्वीडेनमा सूचनाको हक लागू भएको दुई सय ३५ वर्षपछि नेपालमा सूचनाको हक कार्यान्वयनको बाल चरणमा रहेको बताउनुभयो । अनियमितताका विरुद्ध सामाजिक सञ्जालमा लेखेरमात्र नहुने उल्लेख गर्नुहुँदै उहाँले त्यसका बारेमा सूचना माग गरेर पारदर्शिता कायम गराउन सकिने बताउनुभयो ।

“सूचना नपाएर आयोगमा पुनरावेदन गर्नेलाई सूचना दिन आदेश गर्ने गरिएको छ, आयोग दिनुपर्ने सूचना दिलाउन कठोर भएर लागेको छ, सूचना नदिनेलाई कारबाही हुन्छ”, आयुक्त थापाले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले सुशासनका लागि सूचनाको हक आवश्यक रहेकामा जोड दिनुभयो । कोषमा सूचना माग गर्नेलाई समयमै दिने गरिएको उल्लेख गर्नुहुँदै उहाँले कानुनमा तोकिएको समय अलि कम भएको हो कि रु भन्ने लागेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले वडामा प्रत्येक महिना भए गरेका कामको सूचना विवरण बनाएर सार्वजनिक गर्ने परिपाटी बसालिएको जानकारी दिनुभयो । समुदाय जागरण यात्रामा वडा नं ८ का अध्यक्ष आशामान संगतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन्द र काठमाडौँ उपत्यकाका अध्यक्ष तारबहादुर भण्डारीले सूचनाको हक नागरिकस्तरसम्म अभ्यासमा लैजान समुदाय जागरण अभियान सुरु गरिएको बताउनुभयो । गत असार ३० गते विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको थियो । रासस