४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

विद्यालयमा बालेनको एक्सन-व्यवस्थापन समिति भंग

विद्यालयमा बालेनको एक्सन-व्यवस्थापन समिति भंग
अ+ अ-

काठमाडौँ, साउन ६ गते । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।

नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिनुभयो। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ।

नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुने छ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन्।

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्। महानगरपालिकाभित्र ३२ वटा वडा छन्। नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ।

नगर सभाले विव्यस भङ्ग गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। वर्तमान समिति भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरूलाई समेत समस्यामा पार्ने भन्दै उनीहरूले सङ्गठित रूपमा विरोध गर्ने तयारी गरेका छन्। सोही तयारीस्वरूप सामुदायिक विद्यालयका शिक्षकले हालै मात्र नेपाल शिक्षक महासङ्घको काठमाडौँ महानगर समितिसमेत गठन गरेका छन्।

नेपाल शिक्षक महासङ्घ गठन भएको वर्षौं बितिसक्दा पनि यसअघि महानगर समिति गठन भएको थिएन। महासङ्घको महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले भन्नुभयो, “सामुदायिक विद्यालयका शिक्षाको स्तर उकास्न महानगरपालिकामा नयाँ मेयर आएपछि गरेका हरेक काम निकै प्रशंसा भएको थियो तर विव्यस भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने निर्णय विरोध गर्न योग्य छ।”

उहाँले नगर सभाको निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा अदालतमा जाने तयारी भएको बताउनुभयो। महानगरपालिकाले केही समयअघि महानगरपालिकाभित्रका विद्यालयमा कुनै पनि राजनीतिक दलसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नदिने तथा राजनीतिक दलको भ्रातृ सङ्गठनसमेत गठन गर्न नदिने निर्णय गरेको थियो तर अहिले वडाध्यक्षलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरेर महानगरपालिका आफैँले विद्यालयभित्र राजनीति प्रवेश गराउन खोजेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आरोप लगाएका छन्।

वडाध्यक्षलाई नै विव्यसको अध्यक्ष बनाउने व्यवस्थाले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षबिच राजनीतिक द्वन्द्व हुने र अन्ततः यसले विद्यालय शिक्षाको गुणस्तरमै असर पुर्याउने प्रधानाध्यापकहरूको चिन्ता छ तर शिक्षकहरूबाट चर्को दबाब आएमा नगर सभाको निर्णय रोक्न सक्ने वा संशोधन गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई छ। यसअघि पनि मुलुकका थुप्रै स्थानीय तहले पुरानो व्यवस्थापन समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गरेका थिए। गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले समाचार लेखेका छन् ।