१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने
अ अ+ अ-

गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।

जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।

पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उहाँले जानकारी दिनुभयो । “पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।”

नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् ।

अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उहाँले बताउनुभयो । संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोर¬ङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।

ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ । संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

“हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।”

पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उहाँले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिनुभयो ।

शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताउनुभयो । नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।रासस