काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले साढे १ वर्षको सबै खाजा खर्च फिर्ता गर्ने हुनु भएको छ । उहाँले १४ हजार युरो सरकारी खातामै फर्काउने घोषणा गर्नुभएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार उहाँले आफूले खाना तथा खाजा भत्ता सरकारबाट कहिल्यै नलिने पनि बताउनु भएको छ। विभिन्न सञ्चार माध्यमबाट सरकारी पैसामा खाजा खाने गरेको समाचारहरु प्रकाशित भएपछि प्रहरीले ३५ वर्षकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान गर्ने भएको थियो। समाचारहरुमा उहाँले आफ्नो बिहानको खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएको उल्लेख थियो।
तर करदाताको पैसा दुरुपयोग गर्दै खाजा भत्ता छुट्याएको विषयमा उहाँको बिमति छ। उहाँले भन्नुभयो, ‘नियमअनुसार नै मैले सुविधा लिएको थिए।’ अब भने सरकारी नियममा त्यस्ता भत्ता छन् भने आफूले त्यसलाई अस्वीकार गर्ने बताउनु भएको छ।











