काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारि रहेकै वेला सडकमा सवारी चहलपहल धेरै देखिएको छ । शुक्रबारदेखि १० दिनको लागि थप गरिएको पहिलोदिन धेरै सवारी चहलपहल देखिएको हो ।
सरकारले सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरेपनि शुक्रबार उपत्यकाका सडकमा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।
निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ ।
प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ ।
शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।
















