काठमाडौं । मनै लोभ्याउने आकर्षक फर्निचरहरु, झट्ट हेर्दा विदेशतिर बनेका जस्ता । अझ बेलायतको भिक्टोरियन युगको शैली पछ्याएका यी फर्निचर विदेशमा होइन नेपाली श्रम र शिल्पीले तयार पारेका हुन् ।
बिगत २५ वर्षदेखि फर्निचर व्यवसायमा संलग्न व्यवसायी प्रकाशजंग बहादुर राणा स्वदेशी शिल्पी र सम्भव भएसम्म स्वदेशी कच्चा पदार्थबाट यी फर्निचर उत्पादन गर्दै आउनु भएको छ । अहिले यस्ता फर्निचरको माग अनुसार आपूर्ति गर्न नसक्दा यसको बजार सम्भावना प्रशस्तै देख्नुहुन्छ राणा ।
काठमाडौंको बालुवाटारमा रहेको इम्पेरियल फर्निचर प्रा.लि. मार्फत यस्ता फर्निचर निर्माण गरिरहनु भएका राणाले भन्नुभयो– हातमा सीप छ भने रोजगार खोज्दै विदेश जानु पर्छ भन्ने नै छैन । यहीँ प्रशस्त अवसर छ तर लगनशील भने हुनुपर्छ ।

तत्कालीन प्रधानममन्त्री जंगबहादुर राणा बेलायत जाँदा यस्ता फर्निचर नेपाल भित्र्याउनु भएको थियो । त्यसबेला बेलायतकी महारानी भिक्टोरिया हुनुहुन्थ्यो जसका कारण राणाले निर्माण गर्नु भएका फर्निचरलाई भिक्टोरिया फर्निचरको नाम दिनुभयो ।
शौखका रुपमा सुरु गर्नु भएको यो व्यवसाय आज भरपर्दो पेशा बनेको छ राणाको । मान्छे कि पढेर कि परेर जान्दछ भने जस्तै उहाँले पनि इन्टेरियर डिजाइन बारे कुनै औपचारिक ज्ञान लिनु भएन तर सिक्दै जाँदा एक परिपक्व इन्टेरियर डिजाइनर बन्नु भएको छ राणा ।
व्यवसायमा लाग्न दाजु विकास राणाको प्रेरणालाई मुलमन्त्र मान्नु भएका राणाले आफ्ना लागि परिवारका लागि हुँदै व्यवसायिक रुपमा नै फर्चिनर निर्माण गर्न थाल्नुभयो । भिक्टोरियन युगको फर्निचरका लागि प्रायः नेपाली काठहरु नै प्रयोग गर्ने गरिन्छ भने कपडाहरु भने भारतबाट आयात हुन्छ ।
ग्राहकहरुको आवश्यकता र माग अनुसार अन्य तेस्रो मुलुकबाट पनि कपडा ल्याई आकर्षक फर्निचर निर्माण हुन्छ । गुणस्तरमा सम्झौता नहुने भन्दै राणाले भन्नुभयो – एउटा फर्निचर बनाउन महिनौ लाग्छ तर छिटो दिने नाममा सम्झौता भने हुँदैन, ग्राहकको समयमा होइन कि हाम्रो समयमा हामी सामान तयार पार्छौं । कहिल्यै पुरानो नदेखिने यी फर्निचर पुनः बिक्री गर्दा पनि मूल्यमा खासै अन्तर भने हुँदैन ।
अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा दक्ष कामदारको अभाव त छँदैछ, त्यसमा पनि चलनचल्तीका भन्दा फरक किसिमको निर्माण गर्नुपर्ने हुँदा यसमा विशेष सीपको आवश्यकता पर्दछ त्यो संख्या न्यून मात्र छ ।

हाल १५० जनालाई रोजगारी दिइरहनु भएका राणाले भन्नुभयो – जनशक्तिको चापले धान्न सक्नेमात्र अर्डर लिन्छौं त्यसैले दबाब नराखी काम गर्छौं । प्रायः उच्च घरानीया र नेपालमा कार्यरत विदेशी नियोगमा काम गर्ने व्यक्तिहरुको रोजाईमा पर्ने गरेको भिक्टोरिया फर्निचरका मूल्य नमुना र गुणस्तरले निर्धारण गर्दछ ।
घर जतिसुकै आधुनिक बनाए पनि पैसा खर्च गर्न चाहना राख्नेहरुले फर्निचर भने क्लासिक खालको चाहना गर्छन् । जसले घरको सुन्दरतालाई नै फरक पार्दछ । भनिन्छ, सुनमा सुगन्ध थपेजस्तो । माग अनुसारको आपूर्ति गर्न नसक्नु भएका राणालाई व्यवसाय बिस्तारका लागि विशेष योजना नै चाहिएको छैन । प्रयोग गरिसेकको ग्राहकबाट अर्को ग्राहक हुँदै थुप्रैलाई व्यवसायिक सेवा उपलब्ध गराउनु भएका राणाले भन्नुभयो – ग्राहकको विश्वास नै सबैभन्दा ठूलो बजार हो । विश्वास बढ्दै गएपछि बजार त बढिहाल्छ नि ।
के हो भिक्टोरियन युग
भिक्टोरियन फर्निचर भन्नाले खासरुपमा बेलायती साम्राज्यकी रानी भिक्टोरियाको शासनकालमा अपनाइएका शैलीका फर्निचरलाई बुझिन्छ । रानी भिक्टोरियाले बेलायतमा सन् १८३७ देखि १९०१ सम्म शासन चलाएकी थिइन् । उनको शासनकालमा बेलायती कला, साहित्य, ज्ञान, विज्ञान जस्ता क्षेत्रले ठूलो फड्को मारेको थियो ।
तिनै रानीको सम्झना अहिले विभिन्न क्षेत्रमा गरिन्छ । भिक्टोरियाको समयका फर्निचरको शैली विश्वभर लोकप्रिय हुनुका साथै फर्निचरका शौखिनका लागि विशिष्ट महत्व राख्दथे । डाइनिङ हल होस् वा शयन कक्ष भिक्टोरियन फर्निचरले छुट्टै पहिचान बनाएका थिए । एन्गुलर आकृतिका यी डिजाइनमा फूल, पात र वक्र रेखाको प्रयोग गरिन्छ । ओखर, गुलाफ र महोगानी रुखका काठहरु प्रयोग गरेर बनाइने यी फर्निचर गहिरो बदामी रङका हुन्छन् ।
—











