काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् ।
सन्दीपका मेनेजर रमण शिवाकोटीका अनुसार नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने भएका छन् । उनी टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारीमा थिए ।
टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।
र्यापिड्सले आफ्नो आधिकारिक वेवसाइटमा सन्दीपले भिसा र पासपोर्ट इस्युका कारण ब्लास्ट गुमाउने भएको पुष्टि गरेको छ । साथै उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको पनि उसले जनाएको छ ।
सन्दीपले शुक्रबार राती भिसा आए पनि 'टु लेट' भनेर ट्वीट गरेका थिए । यस्तै शनिबार उनले फेसबुक लाइभमा भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी२० ब्लास्ट खेल्न नपाएको जानकारी दिएका थिए । सन्दीप नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने एकमात्र खेलाडी थिए ।