काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारणले नेकपा एकताको प्रयास असफल नभएको दावि गरेका छन् ।
आइतबार राति एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष दाहालका कारण एकता हुन नसकेको जनाएका थिए।
त्यसको प्रतिवाद गर्दै प्रचण्डले सोमबार आफ्ना कारण एकता असफल नभएको जिकिर गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले सामाजिक सञ्जाल भनेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’
गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एकीकरण बदर गर्ने फैसला गरेको थियो। त्यसका विरुद्ध दाहाल पुनरावलोकन गर्न सर्वोच्च पुगेका थिए। उनको निवेदनलाई पनि अदालतले अस्वीकार गरेको थियो।