• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रचण्ड, देउवा र ओलीबीच छलफल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रतिनिधिसभाको अवरोध हटाउनेबारे प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

सदन अवरोध हटाउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का, एमाले प्रमुख सचेतक पदम गिरी र कांग्रेस नेता रमेश लेखक सहभागी छन् ।

पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो । हिजो संसद अवरुद्ध भएपछि आज बेलुका संसद बोलाइएको छ ।

माओवादीले माफी नमागे संसद चल्न नदिने एमालेको अडानपछि प्रधानमन्त्री दाहालले छलफलमा बोलाउनु भएको हो । आज अपरान्ह चार बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा उठेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।