१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै विश्वस्त छैनन्

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै विश्वस्त छैनन्
अ अ+ अ-

काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरु नै विश्वस्त छैनन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा सत्तारुढ दलका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन् ।

बैठकमा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले नेपाली जनताको चाहना अनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको र सोही अनुसार सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गरेपनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताउनु भयो । उहाँले हरेक वर्ष नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यस वर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण रुपमा विश्वस्त हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताको चाहना अनुसार राज्यले गर्नुपर्ने दायित्व सबै ठाउँमा यसको मुख्य दायित्वहरु पनि छन् । यसको मुख्य चुनौति भनेको कार्यान्वयनको पाटो हो । सधैँभर हामीले नीति तथा कार्यक्रमहरु ल्याउँछौँ । तर कार्यान्वयन गर्दा जेठ १५ गते बजेट आउँदैछ, कार्यान्वयन असारको अन्तिमतिर हुन्छ । तीन महिने अभियान, तीन महिनामा समग्र नेपालको खर्च सक्ने प्रवृत्ति जो छ, त्यो सक्ने प्रवृत्तिलाई नयाँ ऐन ल्याएर हामीले जेठ मसान्तसम्म सक्ने गरी ल्यायौँ भनेपछि यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता छ ?’

बैठकमा छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले संविधानले भनेको समावेशी र समन्यायिक विकासका आधारमा नीति तथा कार्यक्रम नआएको बताउनु भयो । उहाँले सरकार स्थानीय तह र प्रदेश सरकारका समस्या समााधान गर्नेतर्फ संवेदनशील बन्न नसकेको आरोप लगाउनु भयो । उहाँले कर्मचारी नहुँदा स्थानीय तहमा विकास निर्माण कामले गति लिन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले भनेको समावेशी र समन्यायिक विकास हुन सकेको छैन ।

समावेशी र समन्यायिक विकास गर्न स्पष्ट नीति र कार्यक्रम अहिलेको प्रश्तुत नीति तथा कार्यक्रममा पनि आउन सकिरहेको छैन । नीति तथा कार्यक्रमका बुँदाहरु हेर्दा संविधानको, संघीयता कार्यान्वयनको चरणमा छौँ भन्ने मात्रै छ । संविधान कार्यान्वयन र संघीयता कार्यान्वयन भनेको केवल सरकार चुनावसम्म मात्रै होइन, तीन तहका बीचका सरकारको बहस, छलफल हुन सकेको छैन । कर्मचारी नभएर स्थानीय तहमा विकास निर्माणका कार्य अवरुद्ध भएका छन् । त्यसको समाधानतर्फ संविधानले व्यवस्था गरेको वैधानिक निकाय भनेको अन्तरप्रदेश परिषद् हो, जो सम्माननीय प्रधानमन्त्रीज्युको अध्यक्षतामा हुन्छ, दुई जना प्रधानमन्त्री यो दुई वर्षमा भइसक्नुभयो तर एक पटक पनि यसको बैठक बस्न सकेको छैन, यसले गर्दा स्थानीय तहको र प्रदेशका समस्याहरुको समाधानतर्फ संवेदनशील बनेको छैन ।’

बैठकको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरु सकारात्मक रहेपनि कार्यान्वयनको चरण चिन्ताको विषय भएको बताउनु भयो । उहाँले कस्तो बजेट आउँछ भन्नेबाट पनि कार्यान्वयनको बारेमा पत्ता लाग्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिवद्ध, हरित अर्थतन्त्र लगायतका प्रकृतिमैत्री अर्थतन्त्रका कार्यक्रमहरु स्वागतयोग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमका विषयहरु सकारात्मक छन्, हामीलाई चिन्ताको विषय भनेको कार्यान्वयनको नै हो । कार्यान्वयन कस्तो हुन्छ र बजेट कसरी ल्याउँछ भन्नेकुरा महत्वपूर्ण कुरा हो । भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिवद्ध छ, केही संकेतहरु पनि देखिएका छन् । सरकार यसमा अडिग रहेर भ्रष्टाचार, सुशासनको निम्ति भ्रष्टाचारलाई अन्त्य गरोस् । हरित अर्थतन्त्रको कुरा गरिएको छ । प्राकृतिक रुपमा नेपाल समृद्ध छ, हरित अर्थतन्त्र भनेको महत्वपूर्ण विषय उठाएको छ, यो स्वागतयोग्य छ, मुलुकको प्रकृतिमैत्री अर्थतन्त्रका कुरा उठाएर यसलाई पूर्णता दिएको छ ।’

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेर प्रश्तुत गरिएको बताउनु भयो । उहाँले कार्यक्रमहरु राम्रो भएपनि कार्यान्वयनको समस्या भएको बताउनु भयो । उहाँले संविधान, संघीयता प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, पुँजीगत खर्चको वृद्धि भ्रष्टाचार नियन्त्रण सार्वजनिक खर्चमा मितव्ययिता, गुणस्तरीय पूर्वाधार निर्माण र शासकीय सेवा प्रवाहमा सुधार र रोजगारी वृद्धि लगायतका पक्ष राम्रा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम समग्ररुपमा धेरै क्षेत्रलाई समेटेर आएको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने यसले साँच्चै संविधानले निर्दिष्ट गरेको कुरालाई अवलम्वन गरेको छ । नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्छ र कार्यान्वयनतर्फ हामी जानुपर्छ । यो एकदमै स्पष्ट रुपमा आएको छ । संविधान, संघीयता प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, पुँजीगत खर्चको वृद्धि भ्रष्टाचार नियन्त्रण सार्वजनिक खर्चमा मितव्ययिता, गुणस्तरीय पूर्वाधार निर्माण र शासकीय सेवा प्रवाहमा सुधार र रोजगारी वृद्धि जस्ता कुरा यो नीति तथा कार्यक्रम सही छ ।’

राष्ट्रिय सभा सदस्य राईले नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।