११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय

महाकालीमा बालुवा छान्नेको पीडा: ‘बालुवा नछाने भोकै बस्नुपर्छ’

महाकालीमा बालुवा छान्नेको पीडा: ‘बालुवा नछाने भोकै बस्नुपर्छ’
अ अ+ अ-

बेदकोट । गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली । गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन् । उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन् । सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग । कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन् ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा ।

ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो । दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उहाँको चुलोमा आगो बल्छ । “घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, उहाँ भन्नुहुन्छ, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।” कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्नुहुन्छ । उहाँहरुका चार छोराछोरी छन् ।

“खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छुप्रो मात्रै छ”, मानसिंहले भन्नुभयो, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ ।”

महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो । घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उहाँको दैनिकी नै हो । “यहीँ गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उहाँले भन्नुभयो, “खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले व्यहोर्न पर्छ ।”

सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउनुहुन्छ । “गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ, नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ”, उहाँले भन्नुभयो, “कमाईको स्रोत यहीँ एउटा छ, सबै खर्च व्यवस्थापन गर्न मुस्किल पर्छ ।”

कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन् । नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उहाँहरुको गुनासो छ ।

“कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ”, चन्द्रा भुलले भन्नुभयो, “गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं ।”

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन् । गिट्टी, बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको उहाँहरुको भनाइ छ ।

बालुवा प्रतिट्रली रु एक हजार पाँच सय र गिट्टी रु दुई हजार सात सयमा बिक्री गर्ने गरेको दूरा भुलले बताउनुभयो । “एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, दुई/तीनजना मिलेर गरे दुई/तीन दिनमा पनि ट्रली तयार हुन्छ”, उहाँले भन्नुभयो, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन् ।”

वर्षांैदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उहाँले बताउनुभयो । “सुरुमा पनि हामीले यतिमै बिक्री गथ्र्यौं, सबैतिर महँगाइ छ”, उहाँले भन्नुभयो, “तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन ।”
कात्तिकदेखि मङ्सिरसम्म गिट्टी प्रतिट्रली रु तीन हजारसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताउनुभयो । “कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ ।” रासस