युइएफए युरो २०२० अन्तर्गत सोमबार राति समूह चरणका चार वटा खेल हुँदैछन् । यी खेलहरुमध्ये ९.४५ बजे समूह सी अन्तर्गत युक्रेन र अस्ट्रिया तथा नेदरल्यान्ड्स र मेसेडोनियाबीच हुनेछ ।
त्यस्तै मध्यरात समूह बी अन्तर्गतका रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीच खेल हुनेछ ।
समूह सी
दुई दुई खेल खेलिसकेको अवस्थामा समूह सी मा नेदरल्यान्ड्स २ खेल जितेर ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरिसकेको छ । त्यस्तै युक्रेन र अस्ट्रियाले एक जित र एक हारबाट समान ३ अंक बनाएर दोस्रो र तेस्रो स्थानमा छन् । मेसेडोनियाले भने दुबै खेल हारेर अंक विहीन अवस्थामा छ ।
अंक तालिका (समूह सी) | ||
देश | खेल संख्या | अंक |
नेदरल्यान्ड्स | २ | ६ |
युक्रेन | २ | ३ |
अस्ट्रिया | २ | ३ |
नर्थ मेसेडोनिया | २ | ० |
एक पटक युरोकप जितिसकेको अस्ट्रियाले रसियालाई परास्त गर्न सके नकआउटमा प्रवेश गर्न सक्नेछ । युरोपेली च्याम्पियनसीपका ठूला प्रतियोगितामा युक्रेनले खासै राम्रो सफलता पाउन सकेको छैन । अस्ट्रियाले पछिल्ला युरो र विश्वकप गरी खेलेका १७ खेलमध्ये दुई वटामा मात्र विजय हासिल गरेको छ ।
यी दुईबीचको खेल रोमानीयाको बुखारेस्टमा हुँदैछ ।
समूह बी
अर्कोतर्फ, रोमेलो लुकाकु, केभिन डी ब्रुएनजस्ता खेलाडीले भरिएको र उत्कृष्ट फर्ममा रहेको बेल्जियमले मध्यरातमा फिनल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहमा बेल्जियमले २ खेलबाट ६ अंक जोडेर तालिकामा पहिलो स्थानमा छ, र ऊ नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
तर बेल्जियम समूहका तीनै खेल जितेर समग्र समूहमा उत्कृष्ट हुने प्रयास गर्नेछ । फिनल्यान्डले २ खेलबाट एक जित र एक हार व्यहोर्दै ३ अंक बनाएको छ, र हाल तेस्रो स्थानमा छ ।
अंक तालिका (समूह बी) | ||
देश | खेल संख्या | अंक |
बेल्जियम | २ | ६ |
रसिया | २ | ३ |
फिनल्यान्ड | २ | ३ |
डेनमार्क | २ | ० |
खासगरी समूहमा ३ अंकका साथ दोस्रो स्थानमा रहेको रसिया र डेनमार्कको स्थिति निकै संवेदनशील छ । डेनमार्कले खेलेका दुबै खेलमा पराजय भोगे पनि निकै स्तरीय खेल कौशल देखाएको छ । त्यही क्रम आज आफ्नै गृहमैदानमा दोहोरिए डेनमार्कले रसियालाई परास्त गर्न सक्नेछ ।
डेनमार्कलाई नकआउट चरणमा छनौट हुन आफूले जितेर मात्र पुग्दैन, बेल्जियमले फिनल्यान्डलाई पराजित पनि गर्नु पर्नेछ । आफ्ना विश्वस्तरीय खेलाडी क्रिस्टिएन एरिक्सन मैदानमै ढलेर सख्त बिरामी भएर पहिलो खेलबाटै विदा भएपछि डेनमार्कको टोली दबाबमा छ ।
***