२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित



अ+ अ-

झापा । भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित भएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो बाटोको रुपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला ठूला खाल्डो खनेर आवागमन बन्द गराएपछि उनीहरु आक्रोशित भएका हुन् । 

मेचीनगर नगरपालिका-१५ र भद्रपुर नगरपालिका-९ को सिमानास्थित हँडिया खोलामा हालै पक्की पुल बनेको छ । चलनचल्तीको सडकमा खाल्डो खनेर अवरोध पुर्याइएपछि मेचीनगरबाट भद्रपुरतर्फ एम्बुलेन्स, निजी सवारी साधन र कलकारखानाका कच्चा सामान बोकेको मालबाहक गाडीहरु खोलाको किनारै किनार उत्तरतिर करीव ९०० मिटर घुमाउरो बाटो भएर जान बाध्य भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिनुभयो ।

“भद्रपुर नगरपालिकाका प्रमुखलाई भेटेर धेरैपटक सीधा बाटोमा अवरोध नगरिदिनुहोस् भनेर ध्यानाकर्षण गराइसक्यौं,” वडाध्यक्ष भट्टराईले भन्नुभयो, “हाम्रो कुरा उहाँले सुन्नै मान्नुभएन । सार्वजनिक बाटोमा अवरोध पुर्याउनु अन्याय हो ।”

भद्रपुर नगरपालिकाले साविकको सडकबाट पुल दक्षिण सारेर बनाइएको हुँदा समस्या आएको जनाएको छ । पुलको मुखबाट उत्तरतिर मोडिएको घुमाउरो बाटो नै प्रयोग गर्न भद्रपुरले मेचीनगरलाई आग्रह गरिरहेको छ । तर मेचीनगरवासीले वर्षौदेखि प्रयोग गर्दै आएको सडकबाट नै आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेका छन् । 

हाल विवाद रहेको सडक भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको साइन्स सिटी (पर्यटकीय क्षेत्र) को जग्गामा पर्छ । साइन्स सिटीबाट सडक दिन नसकिने जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उत्तरतिरको घुमाउरो बाटो नै प्रयोग गरिनुपर्ने बताउनुभयो । 

“साइन्स सिटीको बीचबाट हामीले बाटो दिन सक्दैनौं,” उहाँले भन्नुभयो, “उहाँहरु अलिकति घुमेर जाँदा के फरक पर्छ र रु” बरु घुमाउरो बाटोलाई फराकिलो र स्तरीय बनाइदिन आफूहरु तयार रहेको उहाँको भनाइ छ । रासस