युइएफए युरो २०२० अन्तर्गत सोमबार मध्यराति भएको समूह बी अन्तर्गतको खेलमा बेल्जियम र डेनमार्क विजयी भएका छन् । यो जितसँगै समूह बी बाट बेल्जियम ९ अंक सहित पहिलो र डेनमार्क ३ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।
आज सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको यो लगातार तेस्रो जित हो ।
बेल्जियमका लागि पहिलो गोल आत्मघाती गोलको रुपमा प्राप्त भएको थियो । फिनल्यान्डका गोलकिपर लुकास राडेकीले बल रोक्ने क्रममा हातमा लागेर गोलपोस्टभित्र छिरेको थियो । अर्को गोल रोमेलु लुकाकुले डिबक्सको मध्यभागबाट गरेको प्रहार फिनल्यान्डको डिफेन्डरको खुट्टामा हल्का छोएर गोलपोस्ट भित्र छिरेको थियो ।
तर डेनमार्क र रसियाबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो । डेनमार्कको घरेलु मैदानमा भएको यस खेलमा डेनमार्क र रसिया दुबैले तिब्र आक्रमण र प्रत्याक्रमण गरेका थिए । तर रसिया अन्ततः डेनमार्कसँग ४–१ को फराकिलो गोल अन्तरले पराजित भयो ।
यस खेलमा डेनमार्कका लागि मिक्केल डाम्सगार्डले डिबक्स बाहिरबाट सिधै गोलपोष्टको दायाँतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पछि डेनमार्क त्यतिमै रोकिएन ।
डेनमार्कका लागि युसुफ पाउलसेनले ५९, आन्द्रेस क्रिस्टेन्सेनले ७९ र जोकिम माहलेले ८२ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई नाटकीय जित दिलाए ।
रसियाका लागि एकमात्र गोल ७० औं मिनेटमा पेनाल्टी मार्फत भएको थियो । रसियाका आर्टिम जुबाले पेनाल्टीमा गोल गरेका थिए ।
यो नतिजासँगै समूह बी को नतिजा उलटफेर भएको छ । अंक तालिकामा पहिलो स्थानमा रहेको बेल्जियमले ३ खेलबाट ९ अंक बनाएको छ । तर बाँकी दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका डेनमार्क, फिनल्यान्ड र रसियाले समान ३–३ अंक बनाएका छन् ।
अंक तालिका (समूह बी) | ||
देश | खेल संख्या | अंक |
बेल्जियम | ३ | ६ |
डेनमार्क | ३ | ३ |
फिनल्यान्ड | ३ | ३ |
रसिया | ३ | ३ |
गोल भिन्नताका आधारमा दोस्रो स्थानमा डेनमार्क उक्लिएर नकआउट चरणमा प्रवेश गरेको हाे ।